Skip to content

पश्चिमाञ्चल अस्पतालको नयाँ उपलब्धि, एकै दिन ७ जनाको सफल एन्जियोप्लास्टी

पोखरा ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ले मुटुरोग उपचार सेवामा उल्लेखनीय उपलब्धि हासिल गर्दै एकै दिन ७ वटा सफल एन्जियोप्लास्टी सम्पन्न गरेको छ।

अस्पतालका अनुसार बुधबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म लगातार सञ्चालन गरिएको प्रक्रियामा सात जना जटिल मुटुरोगीको उपचार गरिएको हो। मुटुरोग विभागका इन्चार्ज वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा। मनोज कोइरालाको नेतृत्वमा डा। विश्व बरालसहितको टोलीले उपचार सम्पन्न गरेको अस्पतालले जनाएको छ।

उपचार गरिएका बिरामीमध्ये एकै परिवारका आमा र छोरा पनि रहेका थिए। दुवैलाई एकै समयमा हर्ट अट्याक भएपछि अस्पताल ल्याइएको थियो। ७० वर्षभन्दा बढी उमेरकी आमा र करिब ५० वर्षका छोरामध्ये छोराको अवस्था गम्भीर रहेको बताइएको छ। चिकित्सकहरूको प्रयासपछि दुवैको सफल उपचार भएको अस्पतालले जनाएको छ।

डा। मनोज कोइरालाका अनुसार सामान्य अवस्थामा अस्पतालमा दैनिक चारवटा मात्रै एन्जियोप्लास्टी गरिने भए पनि पछिल्लो समय बिरामीको चाप बढेसँगै सेवा व्यवस्थापन परिवर्तन गरेर धेरै प्रक्रिया सञ्चालन गर्नुपरेको हो। उनले २०८२ सालभित्र मात्रै अस्पतालमा २१० भन्दा बढी मुटुसम्बन्धी अप्रेसन सम्पन्न भइसकेको जानकारी दिए।

अस्पताल निर्देशक डा। सुरेशराज पौडेलका अनुसार अस्पतालमा दैनिक २० देखि २५ वटासम्म आकस्मिक शल्यक्रिया हुने गरेका छन् भने विभिन्न विभागमार्फत ३५ देखि ४० वटासम्म नियमित अप्रेसन सञ्चालन हुने गरेका छन्। समग्रमा अस्पतालमा दैनिक ५० देखि ६० जनासम्मको शल्यक्रिया भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्