पोखरा ।
ब्रह्मरुपा माध्यमिक विद्यालय ले एसइई २०८२ अन्तर्गत प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक प्राप्ताङ्कमा गम्भीर त्रुटि भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको छ।
पोखरा महानगरपालिका–३२ राजाको चौतारास्थित विद्यालयका अनुसार कम्प्युटर इन्जिनियरिङ संकायअन्तर्गत “Data Structure and OOP Concept using C++” विषयको प्रयोगात्मक नम्बर प्रकाशित नतिजासँग मेल नखाएको पाइएको हो। विद्यालयले यसका कारण धेरै विद्यार्थीहरूको जिपिएमा प्रत्यक्ष असर परेको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीले निर्धारित प्रक्रिया र राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार प्रयोगात्मक मूल्याङ्कन सम्पन्न गरी समयमै सम्बन्धित निकायमा पठाइएको बताए। तर सार्वजनिक नतिजामा धेरै विद्यार्थीहरूको प्राक्टिकल नम्बर अस्वाभाविक रूपमा कम देखिएको र त्यसले समग्र ग्रेडमा असर पारेको उनको भनाइ छ।
अभिभावक शिवराज तिवारीका अनुसार प्रयोगात्मक परीक्षामा राम्रो प्रदर्शन गरेका विद्यार्थीहरूको नतिजा अपेक्षाविपरीत आएपछि विद्यार्थी, अभिभावक र शिक्षक सबै निराश बनेका छन्। उनले मेहनतअनुसारको नतिजा नपाउँदा विद्यार्थीहरू मानसिक तनावमा पुगेको बताए।
विद्यालयका शिक्षक शंकर प्रसाद मरासैनीले यस्तै समस्या अघिल्लो वर्षको एसइईमा पनि देखिएको स्मरण गराउँदै सम्बन्धित निकायको प्राविधिक व्यवस्थापन र नतिजा प्रकाशन प्रक्रियामाथि प्रश्न उठाएका छन्। उनका अनुसार पटक–पटक समन्वय र सुधारको प्रयास भए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।
विद्यालयले प्राविधिक विषयमा प्रयोगात्मक मूल्याङ्कन अत्यन्त महत्वपूर्ण हुने भएकाले यस्तो त्रुटिले उच्च शिक्षा, छात्रवृत्ति तथा भविष्यको करियरमा समेत असर पार्न सक्ने जनाएको छ। साथै मेहनती विद्यार्थीहरूले अन्याय महसुस गरिरहेको र अभिभावकहरूमा असन्तुष्टि बढेको विद्यालयको भनाइ छ।
विद्यालय प्रशासनले सम्पूर्ण प्रक्रिया पारदर्शी र जिम्मेवारीपूर्वक पूरा गर्दा पनि बारम्बार यस्ता समस्या दोहोरिनु चिन्ताजनक भएको उल्लेख गरेको छ। विद्यालय परिवारले सम्बन्धित निकायसँग तत्काल निष्पक्ष छानबिन गरी वास्तविक प्राप्ताङ्क पुनः परीक्षण गर्न तथा विद्यार्थीहरूले सही जिपिएसहितको ग्रेडसिट पाउने सुनिश्चितता गर्न माग गरेको छ।
साथै आगामी दिनमा यस्ता त्रुटि नदोहोरिने गरी मूल्याङ्कन प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र प्राविधिक रूपमा व्यवस्थित बनाउन आवश्यक रहेको विद्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्