काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढी रकम हुण्डीमार्फत कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति शाहीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार हुण्डीमार्फत ठूलो रकम कारोबार भइरहेको सूचनाका आधारमा सिआइबीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा शाहीले **‘शाही मनी ट्रान्सफर’**को नाममा विभिन्न बैंकमा ५२ वटा खाता सञ्चालन गरेको खुलेको प्रहरीले जनाएको छ।
सिआइबीका अनुसार ती खाताहरू कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोबल आइएमई बैंकलगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलिएका थिए।
अनुसन्धानका क्रममा ती खातामार्फत विभिन्न व्यक्तिले विदेशमा आर्जन गरेको रकम औपचारिक बैंकिङ प्रणालीबाहिरबाट पठाउने तथा प्राप्त गर्ने काम भएको देखिएको प्रहरीको दाबी छ।
प्रहरीले हालसम्म १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको कारोबार हुण्डीमार्फत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ।
यस प्रकरणमा सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर शाहीमाथि हुण्डीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
घटनासँग जोडिएका अन्य व्यक्ति तथा कारोबारको विवरणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्