काठमाडौं । १५ वर्षको उमेरमा नेपालबाट बेल्जियम पुगेका सुमित पौडेलका लागि सुरुवाती समय निकै चुनौतीपूर्ण थियो। नयाँ देश, नयाँ वातावरण र सबैभन्दा ठूलो समस्या थियो—भाषा।
बेल्जियमको विद्यालयमा डच भाषामा पढाइ हुने भएकाले सुरुवाती दिनमा उनलाई कक्षा बुझ्न मात्र होइन, साथीहरूसँग घुलमिल हुनसमेत कठिन भयो। कहिलेकाहीँ विभिन्न बहाना बनाएर उनी विद्यालयबाट घर फर्किन्थे।
तर समयसँगै उनले आफूलाई नयाँ वातावरणमा ढाल्दै लगे। डच भाषा सिके, विद्यालयका साथीहरूसँग घुलमिल भए र पढाइलाई निरन्तरता दिए।
आज भने त्यही सुमित बेल्जियमको लुभेनमा बसेर बहुराष्ट्रिय कम्पनी डिलोयटमा आईटी कन्सल्ट्यान्टका रूपमा कार्यरत छन्।
२९ वर्षीय सुमितका अनुसार उनको मुख्य काम कम्पनीको आवश्यकताअनुसार बिजनेस सफ्टवेयर कार्यान्वयन र व्यवस्थापनमा सहयोग गर्नु हो।
उनले डिलोयटमा काम गर्न थालेको करिब एक वर्ष भएको छ। उनको टिममा ५४ जना सदस्य छन्। अधिकांश बेल्जियमका नागरिक भए पनि भारत, रोमानियालगायत विभिन्न देशका कर्मचारी पनि टिममा छन्।
बहुराष्ट्रिय कम्पनी भएकाले कार्यस्थलमा अंग्रेजी भाषा मुख्य रूपमा प्रयोग हुने उनी बताउँछन्। परियोजनाको आवश्यकताअनुसार डच र फ्रेन्च भाषाको प्रयोग पनि हुने गरेको उनको भनाइ छ।
पर्वतबाट बेल्जियमसम्मको यात्रा
सुमितको बाल्यकाल पर्वतमा हजुरबुबा–हजुरआमासहित ठूलो परिवारमा बित्यो। उनका बुबा उनी सानै हुँदा रोजगारीका लागि बेल्जियम पुगेका थिए। आमा गृहिणी थिइन् भने उनका एक भाइ र एक बहिनी छन्।
परिवारको मुख्य आम्दानी बुबाको कमाइमा निर्भर थियो। घरमा खेतीपातीसमेत हुने भएकाले सुमित पनि फुर्सदमा आमासँगै खेतबारीमा जाने गर्थे।
गाउँकै विद्यालयबाट कक्षा ८ सम्मको पढाइ पूरा गरेका उनी सन् २०१२ मा कक्षा ९ पढ्दै गर्दा पारिवारिक भिसामा बुबासँगै बेल्जियम पुगे।
बेल्जियम पुगेपछि उनको पहिलो चुनौती नै भाषा बन्यो। अंग्रेजीमा सहज भए पनि विद्यालयको पढाइ डच भाषामा हुने भएकाले उनले विद्यालय जानुअघि भाषा सिक्नुपर्ने भयो।
करिब ६ महिना डच भाषा अध्ययन गरेपछि पनि दैनिक कुराकानी गर्न पर्याप्त सहज नभएपछि उनले भाषा सिकाइलाई निरन्तरता दिए। करिब एक वर्षपछि विद्यालयमा औपचारिक रूपमा पढाइ सुरु गरे।
बिस्तारै डच भाषा बुझ्न थालेपछि विद्यालयको वातावरण पनि सहज हुँदै गयो। साथीहरू बने र उनले कक्षा १२ सम्मको पढाइ त्यहीँ पूरा गरे।
पढाइसँगै कामको अनुभव
सुमितले विद्यार्थी जीवनमै कामको अनुभव लिन थालेका थिए। उमेर कम भएकाले औपचारिक रूपमा बाहिर काम पाउन कठिन भए पनि आमाबुबाले काम गर्ने रेस्टुरेन्टमा उनले काम गर्न थाले।
पछि अन्य होटल तथा रेस्टुरेन्टमा समेत काम गरे। उनका लागि त्यो केवल आम्दानीको स्रोत थिएन, नयाँ समाज र काम गर्ने संस्कृतिबाट सिक्ने अवसर पनि थियो।
कक्षा १२ पछि उनले स्नातक तहको अध्ययन सुरु गरे। त्यसबीच नेपाल आएर केही समय बसेका कारण पढाइमा असर पर्यो र उनले केही समय अध्ययन रोक्दै व्यवसायमा समेत हात हाले।
आमाबुबाको सहयोगमा होटल–रेस्टुरेन्टमा लगानी गरे र केही समय आफैं पनि त्यही क्षेत्रमा काम गरे। तर लामो समय रेस्टुरेन्ट व्यवसायमा रहनुभन्दा आफ्नो रुचिको क्षेत्रमा अघि बढ्ने निर्णय गर्दै उनले लगानी फिर्ता लिएर पुनः अध्ययनलाई प्राथमिकता दिए।
आईटीतर्फको यात्रा
पुनः स्नातक अध्ययनमा फर्किएका सुमितले तीन वर्षमा आफ्नो डिग्री पूरा गरे। त्यसक्रममा ड्राइभिङ लाइसेन्स लिनुका साथै चार महिने आईटीसम्बन्धी तालिम पनि लिए।
तालिमपछि स्थानीय कम्पनीमा आईटीसम्बन्धी रोजगारीका लागि आवेदन दिए। छनोट भएपछि उनले त्यहीँबाट आईटी कन्सल्ट्यान्टका रूपमा व्यावसायिक करिअर सुरु गरे।
त्यहाँबाट प्राप्त अनुभवले उनलाई थप अवसरतर्फ अघि बढायो र अहिले उनी विश्वव्यापी रूपमा परिचित बहुराष्ट्रिय कम्पनी डिलोयटमा काम गरिरहेका छन्।
अब केही समय डिलोयटमै काम गरेर थप व्यावसायिक अनुभव हासिल गर्ने उनको योजना छ। यससँगै उनले साथीसँग मिलेर आफ्नै कम्पनीसमेत सुरु गरेका छन्। उक्त व्यवसायलाई विस्तार र व्यवस्थित बनाउने योजना पनि उनको छ।
सुमितका लागि काम केवल पैसा कमाउने माध्यम होइन। उनको बुझाइमा कामले मानिसलाई आफ्नो क्षमता विकास गर्ने र नयाँ कुरा सिक्ने अवसर पनि दिन्छ।
‘सानै उमेरदेखि काम गर्दा व्यवहारिक जीवनका धेरै कुरा सिक्न पाइने रहेछ,’ उनी भन्छन्।
प्रतिक्रिया दिनुहोस्