Skip to content

“निर्वाचित सर्वसत्तावादतर्फ देश जान सक्छ” ः प्रदीप ज्ञवालीको चेतावनी

काठमाडौं उमा आले ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान राजनीतिक परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देश “निर्वाचित सर्वसत्तावाद” तर्फ उन्मुख हुन सक्ने चेतावनी दिएका छन्।

मनमोहन अधिकारीको २७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको बताए। ट्रेड युनियन कमजोर पार्ने, विद्यार्थी संगठनमाथि हस्तक्षेप गर्ने र स्वतन्त्र मिडियामाथि दबाब सिर्जना गर्ने जस्ता कदमले आशंका बढाएको उनको भनाइ छ।

ज्ञवालीले पछिल्लो निर्वाचनपछि बनेको राजनीतिक समीकरणले कम्युनिष्ट आन्दोलन मात्र होइन, समग्र लोकतान्त्रिक शक्तिलाई समेत कमजोर बनाएको दाबी गरे। “जनमतबाट आएको सरकार नै निरंकुश बाटोतर्फ उन्मुख भयो भने त्यो अझ खतरनाक हुन सक्छ,” उनको संकेत थियो।

यसै सन्दर्भमा उनले इतिहास सम्झाउँदै मनमोहन अधिकारीले नेतृत्व गर्दा पुस्ताबीचको सहकार्यलाई प्राथमिकता दिएको उल्लेख गरे। २०४७ सालमा पार्टी एकतापछि ३८ वर्षीय मदन भण्डारीलाई महासचिव बनाउनु त्यसको उदाहरण भएको उनले बताए।

ज्ञवालीका अनुसार अहिले राजनीतिमा देखिएको “पुस्ता केन्द्रित अतिवाद” ले दीर्घकालीन समाधान दिन नसक्ने भएकाले अनुभव र युवाको ऊर्जा दुवैको संयोजन आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्