चितवन ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच राजनीतिक परिवर्तन, समाज रूपान्तरण तथा सुशासनका मुद्दामा उल्लेखनीय समानता रहेको बताएका छन्। आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै पुनले दुवै राजनीतिक शक्तिले स्थापित राजनीतिक परम्परालाई चुनौती दिँदै नयाँ राजनीतिक मार्ग निर्माण गरेको उल्लेख गरे।
उनले रास्वपा र माओवादी केन्द्रको राजनीतिक पृष्ठभूमि तथा कार्यशैली फरक भए पनि परिवर्तन र समाज रूपान्तरणका मूल उद्देश्यमा दुवै दलबीच निकटता रहेको बताए। “हाम्रो र तपाईंहरूको धेरै विषयमा समान सोच र एजेन्डा छन्। फरक पृष्ठभूमिबाट आएका भए पनि परिवर्तन, क्रान्ति र समाज रूपान्तरणका सवालमा हामी एकअर्कालाई नजिक पाउँछौं,” पुनले भने।
सुशासनको मुद्दामा पनि माओवादी केन्द्र र रास्वपाबीच अन्य दलहरूको तुलनामा बढी सहकार्य भएको उनको दाबी थियो। उनले लोकतान्त्रिक व्यवस्थालाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन साझा एजेन्डामा आधारित सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।
रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले सहभागी भई शुभकामना मन्तव्य राखिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्