काठमाण्डौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमतमा राजसंस्थाको पक्षमा रहेका मतदाताको समेत समर्थन रहेको दाबी गरेका छन्। आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले परिवर्तनको अपेक्षा राख्ने विभिन्न समूहका नागरिकहरूले रास्वपालाई समर्थन गरेको बताए।
लिङ्देनले राजसंस्थाको पक्षमा रहेका केही मतदाताले राप्रपाभन्दा अन्य वैकल्पिक शक्तिप्रति भरोसा व्यक्त गर्दै रास्वपालाई मत दिएको उल्लेख गरे। यही कारण रास्वपामाथि जनअपेक्षा पूरा गर्ने विशेष जिम्मेवारी रहेको उनको भनाइ थियो।
उनले पछिल्लो निर्वाचन परिणामले परम्परागत राजनीतिक शक्ति, संगठन र आर्थिक प्रभावभन्दा माथि उठेर जनताले परिवर्तनको पक्षमा मतदान गरेको सन्देश दिएको बताए। रास्वपाले देशव्यापी सशक्त संगठनात्मक संरचना नबनाइसकेको अवस्थामा पनि उल्लेखनीय मत प्राप्त गर्नु त्यसैको प्रमाण भएको उनको तर्क थियो।
लिङ्देनले मुलुकका समस्या केवल विगतका राजनीतिक नेतृत्वमा मात्र सीमित नरहेको उल्लेख गर्दै वर्तमान संविधान र संवैधानिक व्यवस्थामा पनि सुधार आवश्यक रहेको धारणा व्यक्त गरे। उनले राष्ट्रिय सहमतिका आधारमा संविधानका केही प्रावधानहरू पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमतिमार्फत देशका चुनौती समाधान गर्नुपर्नेमा जोड दिँदै निषेधको राजनीति भन्दा सहकार्यको राजनीतिलाई प्राथमिकता दिन आग्रह गरे। रास्वपाले प्राप्त गरेको जनसमर्थनलाई अवसरका रूपमा सदुपयोग गर्दै जनताको अपेक्षा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्