काठमाडौँ उमा आले ।
काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। शुक्रबार बिहान हावाको गुणस्तर सूचक (AQI) २४७ पुगेपछि उपत्यकाको हावा “अति अस्वस्थ” श्रेणीमा परेको छ।
उच्च प्रदूषणका कारण विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू बढी जोखिममा परेका छन्। चिकित्सकहरूका अनुसार यस्तो अवस्थामा श्वासप्रश्वाससम्बन्धी समस्या, एलर्जी, आँखा पोल्ने, घाँटी दुख्ने जस्ता लक्षण तीव्र रूपमा देखिन सक्छन्। मुटुरोगीहरूका लागि समेत जोखिम बढ्ने चेतावनी दिइएको छ।
पछिल्ला केही दिनदेखि वर्षा नहुनु, सुख्खा मौसम, देशका विभिन्न स्थानमा लागेको डढेलो र कृषि अवशेष जलाउने प्रवृत्तिले प्रदूषणलाई झन् बढाएको छ। हाल देशभर ७० भन्दा बढी स्थानमा डढेलो सक्रिय रहेको जानकारी छ, जसको धुवाँ उपत्यकामा जमेर बस्दा अवस्था झन् जटिल बनेको हो।
वातावरण विज्ञहरूका अनुसार काठमाडौँ उपत्यकाको भौगोलिक बनावट पनि प्रदूषण बढ्ने मुख्य कारण हो। चारैतिर पहाडले घेरिएको उपत्यकामा धुवाँ बाहिर ननिस्कँदा हावा थुनिएको जस्तो अवस्था सिर्जना हुन्छ।
यसैबीच, स्वास्थ्यकर्मीहरूले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न र बालबालिकालाई विशेष ध्यान दिन आग्रह गरेका छन्। विद्यालयहरूमा समेत सावधानी अपनाउन सुझाव दिइएको छ।
प्रदूषण नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको विज्ञहरूको भनाइ छ। उनीहरूले वन डढेलो नियन्त्रण, खुला रूपमा फोहोर तथा अवशेष जलाउने कार्य रोक्ने र सवारी साधनको धुवाँ नियन्त्रण गर्न कडाइ गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्