काठमाडौं उमा आले
काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि खतरनाक तहमा पुगेको छ। केही दिनअघि वर्षाका कारण सुधार देखिएको वायु गुणस्तर पुनः खस्किँदै ‘धेरै अस्वस्थ’ स्तरमा पुगेको हो।
एयर क्वालिटी इन्डेक्स (AQI) अनुसार मंगलबार दिउँसो करिब ९२ रहेको सूचकांक बुधबार बिहान ११ बजेसम्म बढेर २४७ पुगेको छ। यो स्तर ‘धेरै अस्वस्थ’ श्रेणीमा पर्ने भएकाले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने बताइएको छ।
वातावरण विभागका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने क्रम तथा वन डढेलोका घटनाले वायु प्रदूषण बढाएको हो। वर्षा नहुँदा हावामा रहेका धुलो र धुवाँका कणहरू जमिनमा नबस्ने भएकाले प्रदूषण झन् बढ्ने गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन उल्लेखनीय वर्षाको सम्भावना नरहेको जनाएको छ। तापक्रम बढ्ने संकेत देखिएकाले वायु गुणस्तर अझ बिग्रन सक्ने अनुमान गरिएको छ।
विशेषज्ञहरूले वायु प्रदूषणको असर विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटु रोगीलाई बढी पर्ने बताएका छन्। अत्यावश्यकबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र धुलो–धुवाँबाट जोगिन सर्वसाधारणलाई सुझाव दिइएको छ।
प्रतिक्रिया दिनुहोस्