काठमाडौं उमा आले ।
नेपाली कांग्रेस भित्र संसदीय दलको नेता चयन आज हुने निर्वाचनले केवल नेतृत्व छान्ने प्रक्रिया मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन र भविष्यको रणनीतिक दिशा निर्धारण गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब दुई महिना बितिसक्दा पनि दलको नेता चयन हुन नसक्नुले कांग्रेसभित्रको आन्तरिक सहमति कमजोर रहेको संकेत गरेको थियो। आज हुने निर्वाचनले त्यो अन्योल अन्त्य गर्ने अपेक्षा गरिएको छ।
निर्वाचन कार्यतालिका अनुसार दिउँसो ३ बजेदेखि उम्मेदवारी दर्ता सुरु भई ४स्४० बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ भने साँझ ५ बजेदेखि मतदान हुने तय गरिएको छ। नेतृत्वका लागि अर्जुननरसिंह केसी, भिष्मराज आङदेम्वे, मोहन आचार्य लगायतका नेताहरू मैदानमा उत्रिने तयारीमा छन्। यी उम्मेदवारहरूबीचको प्रतिस्पर्धा केवल व्यक्तिगत आकांक्षाको लडाइँ नभई पार्टीभित्रका विभिन्न समूह र धारहरूको प्रतिनिधित्वको रूपमा पनि हेरिएको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको सन्दर्भमा, संसदीय दलको नेता चयनले आगामी सत्ता समीकरण, संसदीय रणनीति र सरकार निर्माणमा समेत प्रभाव पार्ने विश्लेषण गरिएको छ।
यसैबीच, कांग्रेस सांसदहरूले संसदीय दलको नयाँ विधान पारित गरेर अनुमोदनका लागि पार्टीमा पठाएका छन्। नयाँ विधानले नेतृत्व चयन प्रक्रिया र दल सञ्चालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्