काठमाडौं उमा आले ।
पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन मिडियामा आधारहीन तथा अपुष्ट सूचनाहरू तीव्र रूपमा फैलिन थालेपछि सरकारले कडाइ गर्ने संकेत दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस्ता भ्रामक सामग्रीले समाजमा नकारात्मक प्रभाव पारिरहेको भन्दै नियन्त्रणको आवश्यकता औंल्याएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अपुष्ट र कपोलकल्पित समाचारले आम नागरिकमा भ्रम सिर्जना गर्नुका साथै सामाजिक सद्भावमा समेत असर पुर्याउने उल्लेख गरिएको छ। यस्ता गतिविधिले समाजमा गलत मनोविज्ञान फैलाउने भएकाले जिम्मेवार सूचना प्रवाह आवश्यक भएको सरकारको ठहर छ।
सरकारले केवल कानुनी कारबाहीको चेतावनी मात्र दिएको छैन, नागरिकलाई पनि सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ। कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता पुष्टि गर्नुपर्नेमा मन्त्रालयले विशेष जोड दिएको छ।
भ्रामक सूचना फैलाउने कार्यमा संलग्न व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिँदै मन्त्रालयले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आधिकारिक स्रोतबाट पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न अनुरोध गरेको छ।
त्यस्तै, नागरिकले पनि यस्ता भ्रामक सामग्रीबारे जानकारी पाएमा मन्त्रालयको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत उजुरी दिन सक्ने व्यवस्था रहेको जनाइएको छ।
विशेषज्ञहरूका अनुसार फेक न्यूज नियन्त्रणका लागि कानुनी कडाइ मात्र पर्याप्त नभई डिजिटल साक्षरता अभिवृद्धि र जिम्मेवार अनलाइन व्यवहार आवश्यक छ। सूचना युगमा सत्य र असत्य छुट्याउने क्षमता नागरिकमा विकास गर्नु आजको प्रमुख चुनौती बनेको छ।
प्रतिक्रिया दिनुहोस्