काठमाडौं, भदौ ५
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरो जाँदा दर्जनौँ सडकखण्ड प्रभावित भएका छन्। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिमलाई ध्यानमा राख्दै केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने यातायात सञ्चालन गर्न दिइएको छ।
यस्तै, मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म तथा नुवाकोटको टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
इलामको राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको कोदारी र लिपिङ क्षेत्रमा पहिरो तथा सडक भासिएपछि अरनिको राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रसुवामा त्रिशूली नदीको कटानका कारण त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिकाको स्याउपार्किङ क्षेत्रमा पहिरो खसेपछि पासाङल्हामु सडकखण्डसमेत बन्द भएको छ।
रुकुम पश्चिमको आठबिसकोट क्षेत्रमा पहिरोका कारण जाजरकोट–डोल्पा सडक तथा लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरोका कारण बेँसीसहर–मनाङ सडकखण्ड अवरुद्ध भएको छ।
सडक क्षेत्रमा बाढी तथा पहिरोको जोखिम कायम रहेकाले प्रहरीले यात्रुलाई अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्