चितवन ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो राजनीतिक यात्राको उद्देश्य तथा सपना धेरै हदसम्म समान रहेको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै राउतले देश निर्माण, समृद्धि र परिवर्तनप्रतिको प्रतिबद्धताले आफूलाई रास्वपासँग नजिक बनाएको उल्लेख गरे।
शुभकामना मन्तव्यका क्रममा उनले रास्वपाका नेता तथा कार्यकर्तामा रहेको देशलाई समृद्ध बनाउने चाहना र अठोट आफ्नो पनि साझा आकांक्षा भएको बताए। “तपाईंहरूभित्र रहेको देश बनाउने संकल्प र समृद्धिको सपना मैले पनि बोकेको छु। तपाईंहरूले देख्नुभएको सपना र मैले देखेको सपना फरक छैन,” उनले भने।
राउतले आफू र आफ्नो पार्टीलाई रास्वपाको राजनीतिक प्रतिस्पर्धीभन्दा पनि समान लक्ष्य बोकेका सहयात्रीका रूपमा बुझ्न आग्रह गरे। उनले साझा उद्देश्य प्राप्तिका लागि राजनीतिक शक्तिहरूबीच सहकार्य र समझदारी आवश्यक रहेको संकेतसमेत गरे। रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले सहभागिता जनाउँदै शुभकामना मन्तव्य राखिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्