काठमाण्डौं ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले देशलाई नयाँ दिशा र नयाँ युगतर्फ अग्रसर गराउने ऐतिहासिक अवसर प्रदान गरेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्दै यादवले मुलुकमा विद्यमान विकृति, विसंगति र चुनौतीहरूको अन्त्य गरी सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गर्न पार्टी सफल होस् भन्ने कामना गरे।
उनले वर्तमान परिस्थितिमा देशलाई नयाँ सोच र नयाँ दिशाको आवश्यकता रहेको उल्लेख गर्दै महाधिवेशनबाट त्यसतर्फ मार्गनिर्देशन हुने विश्वास व्यक्त गरे। “यो महाधिवेशनले ऐतिहासिक निर्णय गर्दै देशलाई नयाँ सुरुवात र नयाँ दिशातर्फ अघि बढाउने आधार तयार गरोस्,” उनले शुभकामना सन्देशमा उल्लेख गरे।
यादवले रोजगारीको अभावका कारण ठूलो संख्यामा नेपाली युवा विदेशिन बाध्य भएको भन्दै अब आर्थिक विकास, समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले मुलुकलाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्यका साथ राजनीतिक दलहरूले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा पनि राखे।
संविधान संशोधनको विषयमा बोल्दै यादवले वर्तमान संविधानले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धि संस्थागत गरे पनि केही प्रावधानहरू अझै सुधार र परिमार्जनको आवश्यकता रहेको बताए।
उनले संविधानभित्र रहेका विरोधाभास, त्रुटि र अपूर्णतालाई समयानुकूल संशोधनमार्फत सच्याउँदै संविधानलाई थप प्रभावकारी र जनमुखी बनाउन राजनीतिक दलहरूले भूमिका खेल्नुपर्नेमा जोड दिए। चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य दिँदै पार्टीको भावी यात्राका लागि शुभेच्छा व्यक्त गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्