Skip to content

सिन्धुली हिरासत मृत्यु प्रकरणः पोस्टमार्टम रिपोर्टमा आत्महत्या पुष्टि, प्रहरीमा ‘दलित सेल’ कार्यान्वयन

काठमाण्डौं ।

गृहमन्त्री सुधन गुरुङले सिन्धुली जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएका श्रीकृष्ण विकको घटनामा प्रहरीले कुनै प्रकारको शारीरिक वा मानसिक यातना दिएको प्रमाण नदेखिएको बताएका छन्। राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले पोस्टमार्टम रिपोर्ट र छानबिन समितिको प्रतिवेदनले विकको मृत्यु आत्महत्याका कारण भएको देखाएको जानकारी दिए।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले पेश गरेको प्रतिवेदनका आधारमा आवश्यक सुझाव तथा सिफारिसहरू कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।

यसै क्रममा गृहमन्त्री गुरुङले जातीय भेदभाव तथा सामाजिक–धार्मिक रूपमा संवेदनशील मुद्दाहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न नेपाल प्रहरीभित्र ‘दलित सेल’ सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रजस्तै यो सेलले पनि पीडितमैत्री अनुसन्धानलाई प्राथमिकता दिँदै नागरिकको विश्वास अभिवृद्धि गर्नेछ।

सांसदहरूले उठाएका विषयप्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले घटनाको थप अध्ययन तथा अनुसन्धान जारी रहने र प्राप्त हुने नयाँ जानकारीबारे संसदलाई अवगत गराइने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्