काठमाण्डौं ।
मानव बेचबिखनको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट २७ जना महिलालाई प्रहरीले उद्धार गरेको छ। बुधबार वैदेशिक रोजगारीको बहानामा ती महिलाहरूलाई विदेश लैजान लागिएको गोप्य सूचना प्राप्त भएपछि विमानस्थल सुरक्षा प्रहरीले उनीहरूको यात्रा रोकेको थियो। त्यसपछि उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को जिम्मा लगाइएको छ।
कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार उद्धार गरिएका महिलामाथि अहिले विस्तृत सोधपुछ र अनुसन्धान भइरहेको छ। उनका अनुसार महिलाहरू स्वयं पीडित रहेको प्रारम्भिक निष्कर्ष छ र उनीहरूलाई कसले तथा कुन उद्देश्यले विदेश पठाउन खोजिएको हो भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको छ।
प्रारम्भिक अनुसन्धानबाट ती महिलाहरूलाई ओमानमा रोजगारी दिलाइने आश्वासन दिएर ‘भिजिट भिसा’ मा कुवेत पठाउने तयारी गरिएको खुलेको प्रहरीले जनाएको छ। घटनामा संलग्न मानव बेचबिखन गिरोहको पहिचान गरी पक्राउ गर्न सुरक्षा निकायले खोजी अभियान तीव्र बनाएको छ।
पछिल्ला वर्षहरूमा भिजिट भिसाको दुरुपयोग गर्दै महिलाहरूलाई जोखिमपूर्ण अवस्थामा विदेश पठाउने घटना बढ्दै गएको भन्दै प्रहरीले विमानस्थलमा निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्