काठमाण्डौं ।
चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। सोमबार राति भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध आयामहरूबारे विस्तृत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलका क्रममा सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यलगायत विषयमा विशेष जोड दिइएको थियो।
दुवै पक्षले पूर्वाधार, ऊर्जा, लगानी, कृषि, सूचना प्रविधि, डिजिटलाइजेसन, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार जस्ता क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए। रासायनिक मल आपूर्ति, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणजस्ता विषयमा पनि सहकार्य गर्ने सम्भावनाबारे विचारविमर्श भएको जनाइएको छ। भेटका क्रममा नेपालले एक चीन नीतिप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः दोहोर्याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने स्पष्ट पारेको छ।
त्यसैगरी चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन व्यक्त गर्दै सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण सहयोग गर्ने आश्वासन दिएको छ। दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयनमा जोड दिँदै बहुपक्षीय र क्षेत्रीय मञ्चहरूमा समेत सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा मन्त्री खनाल आइतबार बेइजिङ पुगेको र बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्