Skip to content

गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट, पूर्वाधार र विकासमा बढी जोड

काठमाण्डौं ।

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले उक्त बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ र पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको जानकारी दिनुभयो।

यो कुल बजेटको ३८.५६ प्रतिशत चालु र ६०.६८ प्रतिशत पुँजीगत खर्चतर्फ विनियोजित भएको हो। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ छुट्याइएको छ। बजेटका लागि आवश्यक स्रोत व्यवस्थापनअन्तर्गत नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ तथा रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी, सशर्त अनुदानतर्फ ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

आर्थिक मामिलामन्त्री शेरचनका अनुसार प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनपछि करिब २ अर्ब रुपैयाँ नगद मौज्दात रहने अपेक्षा गरिएको छ।

बजेट स्रोत व्यवस्थापनका क्रममा अपुग हुने १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालनमार्फत पूर्ति गरिने प्रदेश सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्