काठमाण्डौं ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न मन्त्रालय तथा संवैधानिक निकायहरूको आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमाथि एकीकृत छलफल हुने कार्यसूची रहेको छ।
आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय तथा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्।
छलफलका क्रममा विभिन्न मन्त्रालयको बजेट खर्च कटौतीसम्बन्धी पाँच प्रस्ताव पनि प्रस्तुत गरिनेछन्। विनियोजन विधेयक, २०८३ अन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको खर्च रकम घटाएर एक रुपैयाँ कायम गर्न सांसद गुरु प्रसाद बरालले प्रस्ताव दर्ता गरेका छन्।
त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको खर्च रकम एक रुपैयाँमा सीमित गर्न सांसद रमेश कुमार मल्लले प्रस्ताव पेस गर्नेछन्। पूर्वाधार विकास मन्त्रालयको बजेटमाथि दुईवटा छुट्टाछुट्टै खर्च कटौती प्रस्ताव आउने भएका छन्। सांसद मोहम्मद इश्तियाक राईले मन्त्रालयको विनियोजित रकम घटाउन प्रस्ताव गर्नेछन् भने सांसद बलावती शर्माले उक्त मन्त्रालयको खर्च रकम एक रुपैयाँमा झार्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यस्तै, गृह मन्त्रालयको खर्च रकम घटाएर एक रुपैयाँ कायम गर्न सांसद विष्णु माया वि।क। ले प्रस्ताव पेस गर्नेछिन्। बैठकको अन्त्यमा प्रतिनिधिसभाका पूर्व सदस्य मंगल प्रसाद गुप्ताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ। सभामुखले उनको आत्माको चिरशान्तिको कामना गर्दै बैठकसमक्ष शोक प्रस्ताव राख्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्