Skip to content

सुस्तामा नेपालीमाथि हप्कीदप्की भइरहेको भन्दै सरकारमाथि हर्क साम्पाङको कडा प्रश्न

काठमाण्डौं ।

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल–भारत सीमा क्षेत्रमा देखिएको अवस्था र सरकारको भूमिकाप्रति कडा आपत्ति जनाएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साम्पाङले राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार गम्भीर नभएको आरोप लगाए।

उनले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० द्वारा नेपाली नागरिकमाथि हप्कीदप्की भइरहेको दाबी गर्दै त्यसबारे सरकारको स्पष्ट धारणा नआएको भन्दै प्रश्न उठाए। साम्पाङले त्यहाँका स्थानीयबासी आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत रहे पनि राज्यको उपस्थिति कमजोर देखिएको टिप्पणी गरे।

सांसद साम्पाङले प्रधानमन्त्रीले सीमा विषयमा दिएको भनिएको अभिव्यक्तिपछि आफूले संसद्भित्र विरोध जनाएको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसद्मा उपस्थित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे।

उनले संसद्मा रक्षा मन्त्रालयको नेतृत्वबारे समेत प्रश्न उठाउँदै सीमासम्बन्धी संवेदनशील घटनामा सरकारको स्पष्ट जवाफ आवश्यक रहेको बताए। साम्पाङले रक्षा मन्त्रीलाई संसद्मा उपस्थित गराएर जवाफ दिन सभामुखमार्फत पहल गर्नुपर्ने माग गरे।

उनका अनुसार सुस्ता क्षेत्रमा देखिएको अवस्थाले राज्यको सीमा सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। उनले सरकारले तत्काल आधिकारिक धारणा सार्वजनिक गर्दै नेपाली भूमिको संरक्षणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

प्रतिक्रिया दिनुहोस्