Skip to content

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने, टिकट बुकिङ खुला

पोखरा ।

पोखराबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ। आगामी सेप्टेम्बर २३, २०२६ देखि सुरु हुने उडानका लागि टिकट बुकिङ खुला गरिएको छ।

सन् २०२३ जनवरी १ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु हुन नसकेको अवस्थामा दुबई उडानको सुरुवातलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

विमानस्थल सञ्चालनपछि चीन र भुटानका केही गन्तव्यमा चार्टर उडान तथा भारतमा एकपटक हवाई एम्बुलेन्स सेवा सञ्चालन भए पनि नियमित अन्तर्राष्ट्रिय उडानको अभावले यसको प्रभावकारी उपयोगबारे प्रश्न उठ्दै आएका थिए।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दशकौँदेखिको सपना र संघर्षको प्रतिफल भएको उल्लेख गर्दै नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लाग्नु पोखरा र समग्र गण्डकी प्रदेशका लागि ऐतिहासिक उपलब्धि भएको बताए।

उनका अनुसार दुबई उडानका लागि टिकट बुकिङ खुलिसकेको छ। यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट वा ट्राभल एजेन्सीमार्फत टिकट खरिद गर्न सक्नेछन्।

दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन प्रवर्द्धन, व्यापार विस्तार, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, दुबईलाई ट्रान्जिट हबका रूपमा प्रयोग गर्दै विश्वका विभिन्न मुलुकमा सहज पहुँच विस्तार हुने विश्वास गरिएको छ।

नियमित अन्तर्राष्ट्रिय उडानको सुरुवातसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको मानिएको छ। यसलाई पोखराको अन्तर्राष्ट्रिय पहिचान र आर्थिक गतिविधिलाई थप मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्