पोखरा।
पृथ्वीराजमार्गअन्तर्गत पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको म्याद दोस्रो पटक थप गरिएको छ। मुग्लिन–पोखरा सडक आयोजना ९पश्चिम खण्ड० अन्तर्गत निर्माण भइरहेको पुलको नयाँ म्याद २०८३ फागुन २१ गतेसम्म कायम गरिएको छ।
सेती नदीमाथि हाल रहेको पुलको अपस्ट्रिम र डाउनस्ट्रिमतर्फ १९०–१९० मिटर लम्बाइका दुई वटा पक्की पुल निर्माणका लागि २०७९ भदौ २६ गते करिब एक अर्ब सात करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास बैंक ९ब्म्द्य० को ऋण सहयोगमा निर्माण भइरहेको परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि गत भदौमा पहिलोपटक म्याद थप गरिएको थियो।
मुग्लिन–पोखरा सडक आयोजना ९पश्चिम खण्ड० का आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार हालसम्म पुल निर्माणको भौतिक प्रगति करिब ६१ प्रतिशत पुगेको छ। अब निर्माण कार्यमा कुनै अवरोध नरहेकाले निर्माण कम्पनीले तीव्र गतिमा काम अघि बढाएर थपिएको म्यादभित्र परियोजना सम्पन्न गर्ने अपेक्षा गरिएको उनले बताए।
पुल निर्माणमा ढिलाइ हुनुका प्रमुख कारणमध्ये जग्गा तथा संरचना व्यवस्थापन, मुआब्जा विवाद, खानेपानी पाइप स्थानान्तरण तथा चीनबाट आवश्यक सामग्री आयातमा भएको ढिलाइ रहेका थिए। विशेषगरी सेती नदीको उत्तरतर्फका केही घरधनीसँग मुआब्जा र क्षतिपूर्तिसम्बन्धी सहमति हुन नसक्दा निर्माण कार्य प्रभावित बनेको थियो।
आयोजना प्रमुख कुँवरका अनुसार पछिल्लो समय प्रभावित जग्गाधनीहरूले मुआब्जा बुझेका छन् र संरचना हटाउन सहमति जनाएका छन्। यससँगै निर्माणस्थलमा रहेका प्रमुख अवरोध हटेकाले अब काम रोकिने अवस्था नरहेको उनको भनाइ छ।
हालसम्म पुलका १२० वटा पाइल फाउन्डेसन, पाइल क्याप तथा चारवटा टावर निर्माण सम्पन्न भइसकेका छन्। साथै, एउटा पुलमा गर्डर र क्रस गर्डर जडानको काम पनि सम्पन्न भएको आयोजनाले जनाएको छ।
पृथ्वीराजमार्ग विस्तार परियोजनाको महत्वपूर्ण संरचनाका रूपमा रहेको सेती पुल निर्माण सम्पन्न भएपछि पोखरा क्षेत्रमा यातायात व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्