Skip to content

होर्मुज क्षेत्रमा तनाव बढ्यो, अमेरिकी हेलिकोप्टर घटनापछि इरानमा जवाफी आक्रमणको दाबी

काठमाण्डौँ ।

स्ट्रेट अफ होर्मुज क्षेत्रमा अमेरिकी र इरानी सेनाबीच तनाव थप चर्किएको छ। इरानी पक्षले अमेरिकी सैन्य हेलिकोप्टर खसालेको दाबी गरेपछि अमेरिकाले इरानको रणनीतिक महत्व बोकेको केशम टापुस्थित सैन्य संरचनालाई लक्षित गर्दै हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानका सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणपछि केशम टापु क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिएका थिए। इरानी सैन्य अधिकारीहरूले आक्रमण मुख्यतः टापुस्थित तटीय सैन्य अखडाहरूमा केन्द्रित रहेको बताएका छन्। घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

यसैबीच, अमेरिकाले इरानी कारबाहीका क्रममा आफ्नो एक अपाचे हेलिकोप्टरमाथि आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टरमाथिको आक्रमणलाई गम्भीर घटना भन्दै त्यसको जवाफ दिनु आवश्यक रहेको बताएका छन्।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार हेलिकोप्टरमा सवार दुवै पाइलटलाई सुरक्षित रूपमा उद्धार गरिएको छ। उद्धारपछि उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। घटनापछि इरानले पनि अमेरिकालाई थप सैन्य कारबाही नगर्न चेतावनी दिएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जालमार्फत इरान आफ्नो सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न सक्षम रहेको बताएका छन्।

साथै, विदेशी सैन्य उपस्थितिलाई इरानले नजिकबाट निगरानी गरिरहेको उल्लेख गरेका छन्। इरानी रेभोलुसनरी गार्ड्स (आईआरजीसी) ले आफ्ना क्षेप्यास्त्र तथा प्रतिरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखेको समाचारहरूमा उल्लेख गरिएको छ।

विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ होर्मुज क्षेत्रमा बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार, समुद्री व्यापार तथा क्षेत्रीय सुरक्षामा असर पर्ने चिन्ता बढाएको छ। विश्लेषकहरूले अमेरिका–इरान सम्बन्ध थप जटिल बन्दै गएमा पश्चिम एसियामा व्यापक अस्थिरता निम्तिन सक्ने चेतावनी दिएका छन्।

कूटनीतिक पहल कमजोर बन्दै गएको र सैन्य गतिविधि बढ्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयमता अपनाउन तथा संवादमार्फत समाधान खोज्न आग्रह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्