काठमाण्डौं ।
नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भई वर्षा तथा हिमपातको गतिविधि देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको थियो भने अन्य प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ। यसैबीच कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तापक्रम बढ्न सक्ने भएकाले तातो दिनको अनुभव हुन सक्ने जनाइएको छ।
बुधबार रातिदेखि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। महाशाखाका अनुसार मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका विभिन्न पहाडी, हिमाली तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
मौसमविद्हरूले वर्षा, चट्याङ र हिमपातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस्