काठमाण्डौं ।
विभिन्न १३ मुलुकका लागि रिक्त नेपाली राजदूत पदमा नियुक्तिका लागि झन्डै चार हजार आवेदन परेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार करिब तीन हजार व्यक्तिबाट प्राप्त आवेदनमध्ये धेरैले एकभन्दा बढी देशका लागि समेत दाबी गरेकाले कुल आवेदन संख्या चार हजार नजिक पुगेको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले खुला प्रतिस्पर्धाअन्तर्गत करिब तीन हजार आवेदकबाट झन्डै चार हजार आवेदन प्राप्त भएको जानकारी दिए। उनका अनुसार केही व्यक्तिले आफूलाई विभिन्न देशका लागि योग्य ठहर गर्दै १० वटासम्म मुलुकका लागि छुट्टाछुट्टै आवेदन दर्ता गरेका छन्।
नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला आवेदनमार्फत राजदूत छनोट प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले गत जेठ १४ गते अमेरिका, चीन, भारतलगायत १३ देशका लागि राजदूत पदमा आवेदन आह्वान गरेको थियो भने आवेदन दिने अन्तिम म्याद जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको थियो।
यसपटकको प्रक्रियामा इच्छुक उम्मेदवार स्वयंले आवेदन दिन सक्ने व्यवस्था मात्र नभई अन्य व्यक्ति वा संस्थाले समेत योग्य व्यक्तिको नाम सिफारिस गर्न सक्ने प्रावधान राखिएको थियो। मन्त्रालयले भने रीत नपुगेका तथा म्याद नाघेर आएका आवेदनलाई छनोट प्रक्रियामा समावेश नगर्ने स्पष्ट गरेको छ।
हाल प्राप्त आवेदन र सिफारिसहरूको प्रारम्भिक अध्ययन तथा मूल्याङ्कन सुरु भइसकेको मन्त्रालयले जनाएको छ। निर्धारित मापदण्डका आधारमा योग्य उम्मेदवारहरूको ‘सर्टलिस्ट’ तयार गरिनेछ र छनोटमा परेकाहरूलाई मात्र आगामी चरणका लागि सम्पर्क गरिनेछ।
राजदूत नियुक्तिलाई थप व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विशेष कार्यविधि ९टीओआर० तयार गरी १५ वटा न्यूनतम योग्यता निर्धारण गरेको छ। त्यसअनुसार आवेदक कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्नेछ भने मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
अंग्रेजी भाषामा राम्रो दक्षता अनिवार्य गरिएको छ भने सम्बन्धित देशको आधिकारिक भाषाको ज्ञान भएका उम्मेदवारलाई अतिरिक्त प्राथमिकता दिइनेछ। विदेश नीति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्विपक्षीय वा बहुपक्षीय कूटनीतिमा अनुभव भएका व्यक्तिलाई विशेष महत्व दिइने व्यवस्था गरिएको छ।
यस्तै, उम्मेदवारमा उच्च नैतिक चरित्र हुनुपर्ने, भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित फौजदारी कसुरमा दोषी ठहर नभएको हुनुपर्ने तथा कुनै विदेशी राज्यको बसोबास अनुमति, अध्यागमन सुविधा वा स्वार्थको द्वन्द्व नरहेको हुनुपर्ने सर्त राखिएको छ। सरकारी सेवाबाट बर्खास्त भएका, कालोसूचीमा परेका वा विदेशी सहायता प्राप्त गैरसरकारी संस्थामा कार्यरत व्यक्तिहरू भने आवेदनका लागि अयोग्य मानिनेछन्।
परराष्ट्र मन्त्रालयले यस चरणमा अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाका लागि नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ।
प्रतिक्रिया दिनुहोस्