Skip to content

परराष्ट्रमन्त्री खनालः ‘हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ’

नयाँ दिल्ली।

परराष्ट्रमन्त्री शिशिर खनालले आफूहरूले नेपालको नयाँ राजनीतिक यथार्थको प्रतिनिधित्व गरिरहेको भन्दै वर्तमान नेतृत्व विगतका गल्ती र अलमलबाट अलग रहेको बताएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेका मन्त्री खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनका अनुसार नयाँ पुस्ताको नेतृत्व नागरिकहरूले दिएको ऐतिहासिक जनादेशबाट उदाएको हो र यसको मुख्य उद्देश्य सम्झौतारहित सुशासन, मेरिटोक्रेसी र प्रत्यक्ष जवाफदेहिता हो। मन्त्री खनालले आफूहरू विगतका कुनै पनि राजनीतिक बोझबाट मुक्त रहेको दाबी गर्दै यसलाई भविष्यमुखी सम्बन्ध निर्माणका लागि अवसरका रूपमा प्रयोग गर्ने बताएका छन्।

उनले सञ्चारमाध्यमलाई लोकतन्त्रको महत्त्वपूर्ण स्तम्भ भन्दै नेपाल–भारत सम्बन्धबारे जनस्तरको बुझाइ निर्माणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। नेपाल र भारतलाई केवल नक्साले होइन, हिमालयदेखि गङ्गा बेसिनसम्म फैलिएको सांस्कृतिक, भौगोलिक र ऐतिहासिक सम्बन्धले जोडिएको सहयात्री राष्ट्रका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।

भ्रमणका क्रममा देखाइएको आतिथ्य र सहकार्यप्रति उनले भारत सरकारप्रति आभार पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्