Skip to content

गत निर्वाचन विश्वका लागि अध्ययनयोग्यः पूर्वप्रधानमन्त्री सुशीला कार्की

काठमाण्डौं।

पूर्वप्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन योग्य उदाहरण बनेको बताएकी छन्। निर्वाचन आयोगद्वारा आयोजित केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै उनले उक्त निर्वाचनलाई लोकतान्त्रिक अभ्यासका दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गरिन्।

पूर्वप्रधानमन्त्री कार्कीले निर्वाचनमार्फत नयाँ राजनीतिक दल तथा नयाँ पुस्ताका प्रतिनिधिहरूको उपस्थिति बढेको भन्दै जनताले दिएको जनमतको सम्मान गर्दै उनीहरूलाई जनअपेक्षा अनुसार काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।

उनले निर्वाचन शान्तिपूर्ण र सफल रूपमा सम्पन्न गराउन तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा पनि गरिन्।

कार्यशालामा बोल्दै पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कठिन परिस्थितिका बाबजुद सबै पक्षको सहकार्यमा कुनै पनि हिंसात्मक घटना बिना निर्वाचन सम्पन्न हुनु उपलब्धिमूलक रहेको बताए।

त्यसैगरी पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा देखिएको ‘जेनजी’ पुस्ताको उत्साह र परिवर्तनको आकांक्षालाई अब सुशासन र राजनीतिक स्थायित्वतर्फ केन्द्रित गर्नुपर्ने धारणा राखे।

उनले जनताको चाहनाअनुसार देशलाई स्थिर राजनीतिक मार्गतर्फ अघि बढाउनु आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्