काठमाण्डौँ।
वरिष्ठ अभिनेता तथा ‘महानायक’का रूपमा परिचित राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रियता र सीमा विवादसम्बन्धी विषयमा धारणा सार्वजनिक गर्दै देशको नेतृत्व तहको परिपक्वतामाथि प्रश्न उठाएका छन्। उनको अभिव्यक्ति केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको भनिएको एक वक्तव्यप्रति लक्षित रहेको रूपमा बुझिएको छ। हमालले आफ्नो स्टाटसमा सीमा सम्बन्धी बहसलाई बौद्धिक र कूटनीतिक दृष्टिले विश्लेषण गर्दै ‘सीमापार अतिक्रमण’ ९क्रस बोर्डर अकुपेसन० र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ ९स्टेट स्पोन्सर्ड टेरिटोरियल इन्क्रोचमेन्ट० बीचको भिन्नता स्पष्ट पारेका छन्।
उनका अनुसार सीमापार अतिक्रमण प्रायः स्थानीय गतिविधि, जनजीवन र भौगोलिक परिस्थितिसँग सम्बन्धित हुने गर्छ। नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौँदेखि व्यापार, कृषि तथा सामाजिक सम्बन्धमा जोडिएको उल्लेख गर्दै उनले नदीको धार परिवर्तन, सीमा स्तम्भ हराउनु वा क्षतिग्रस्त हुनु तथा बस्ती विस्तार जस्ता विषयहरू रणनीतिक विस्तार नभई प्रशासनिक प्रकृतिका समस्या भएको बताएका छन्। यस्ता समस्याको समाधान संवाद, संयुक्त सर्वेक्षण र सहकार्यबाट सम्भव हुने उनको धारणा छ।
तर राज्य–प्रायोजित भू–अतिक्रमण भने पूर्ण रूपमा फरक र गम्भीर प्रकृतिको हुने उनले उल्लेख गरेका छन्। कुनै देशले विवादित भूभागमा राज्यकै संरचना प्रयोग गरेर नियन्त्रण विस्तार वा कायम राख्ने कार्यलाई उनले यस्तो अतिक्रमणको रूपमा व्याख्या गरेका छन्। यस अन्तर्गत सडक निर्माण, प्रशासनिक संरचना स्थापना, सुरक्षा निकाय परिचालन तथा सरकारी नक्सा परिवर्तनजस्ता गतिविधि पर्ने उनको भनाइ छ।
यस प्रसंगमा उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई यसको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन्।
स्टाटसको अन्त्यमा उनले कूटनीतिक संवेदनशीलता र नेतृत्व क्षमताको महत्त्व औँल्याउँदै आजको जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा राष्ट्र नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव र दूरदृष्टि अनिवार्य हुने बताएका छन्। उनले हल्का टिप्पणीभन्दा गम्भीर कूटनीतिक मामिलामा जिम्मेवार नेतृत्व आवश्यक हुने संकेत गरेका छन्।
उनको यो अभिव्यक्ति हाल सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा व्यापक रूपमा चर्चाको विषय बनेको छ।
प्रतिक्रिया दिनुहोस्