Skip to content

अस्पताल लैजानुपर्ने कैदीलाई गेस्टहाउस पुर्‍याएको आरोपमा दुई प्रहरी बर्खास्त

काठमाण्डौं ।

केन्द्रीय कारागार सुन्धाराबाट उपचारका लागि अस्पताल लैजान भनिएका एक कैदीलाई गेस्टहाउसमा पुर्‍याएको घटनामा संलग्न दुई प्रहरी कर्मचारी बर्खास्त भएका छन्। प्रहरी स्रोतका अनुसार जेठ १ गते ठगी अभियोगमा कारागारमा रहेका अनुप भण्डारीलाई सामाखुशीस्थित बिनायक अस्पताल लैजाने भन्दै कारागारबाट निकालिएको थियो।

तर उनलाई अस्पतालको सट्टा सामाखुशीकै दीप सागर गेस्टहाउसमा लगेर घण्टौंसम्म राखिएको तथ्य छानबिनका क्रममा खुलेको हो। घटनामा संलग्न प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट बर्खास्त गरिएको उपत्यका प्रहरी कार्यालय स्रोतले जनाएको छ।

घटनाबारे सूचना प्राप्त भएपछि उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको थियो। समितिको अनुसन्धानबाट कैदीलाई गेस्टहाउसमा लगिएको पुष्टि भएपछि दुवै प्रहरीमाथि बर्खास्तीको कारबाही गरिएको हो।

यस घटनाले कारागारबाट उपचारका लागि बाहिर लगिने कैदीको सुरक्षा तथा निगरानी व्यवस्थामाथि प्रश्न उठाएको छ। प्रहरीले घटनाका थप पक्षबारे पनि अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्