Skip to content

आज विश्व वातावरण दिवसः किन मनाइन्छ र कहिलेदेखि सुरु भयो ?

काठमाण्डौं ।

विश्व वातावरण दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यस वर्ष नेपालमा ‘समृद्ध भविष्यको आधार स् जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको छ।

दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष समारोहको आयोजना गरेको छ। कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। साथै विभिन्न सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवालाहरूको पनि सहभागिता रहने विभागले जनाएको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौतीहरूको सामना तथा प्रकृतिमैत्री विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दिवस विशेष रूपमा मनाउन लागिएको हो। यस अवसरमा देशभर वृक्षारोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछन्।

जुन ५ मै किन मनाइन्छ विश्व वातावरण दिवस ?

विश्व वातावरण दिवसको इतिहास सन् १९७२ मा आयोजित संयुक्त राष्ट्रसंघीय वातावरण सम्मेलनसँग जोडिएको छ। स्विडेनको स्टकहोममा जुन ५ देखि १६ सम्म सम्पन्न उक्त सम्मेलन वातावरण संरक्षणका विषयमा विश्वका राष्ट्रहरू एकै ठाउँमा उभिएको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रयास मानिन्छ।

यही ऐतिहासिक सम्मेलनको सम्झनामा संयुक्त राष्ट्रसंघले जुन ५ लाई ‘विश्व वातावरण दिवस’ का रूपमा मनाउने घोषणा गरेको थियो। त्यसपछि सन् १९७३ जुन ५ मा पहिलो पटक औपचारिक रूपमा विश्व वातावरण दिवस मनाउन थालिएको हो।

नेपालमा भने यो दिवस सन् १९८० र १९९० को दशकदेखि संस्थागत रूपमा मनाउन सुरु गरिएको मानिन्छ। प्रारम्भमा सरकारी निकाय र केही गैरसरकारी संस्थामा सीमित कार्यक्रम हुने गरे पनि अहिले विद्यालय, स्थानीय तह, युवा क्लब तथा समुदायस्तरमा समेत विविध कार्यक्रम आयोजना गरिन्छ।

विश्व वातावरण दिवसको उद्देश्य के हो ?

विश्व वातावरण दिवस मनाउनुको मुख्य उद्देश्य मानव र प्रकृतिबीचको सम्बन्धलाई सुदृढ बनाउनु तथा वातावरण संरक्षणप्रति विश्वव्यापी चेतना फैलाउनु हो। वन विनाश, प्रदूषण, प्लास्टिकको अत्यधिक प्रयोग तथा अन्य मानवीय गतिविधिका कारण पृथ्वीको तापक्रम बढ्दै गएको छ। जलवायु परिवर्तनका असरहरू तीव्र बन्दै गएका छन् भने जैविक विविधता पनि संकटमा परेको छ।

यस्ता चुनौतीहरूको सामना गर्दै पृथ्वीलाई भावी पुस्ताका लागि सुरक्षित र बस्न योग्य बनाउन, प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्न तथा नीति निर्माता देखि सर्वसाधारणसम्मलाई आफ्नो जिम्मेवारीबोध गराउन विश्व वातावरण दिवसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्