पोखरा ।
लगातार चार दिनको सार्वजनिक बिदा, गर्मीबाट राहत खोज्ने भारतीय पर्यटक तथा आन्तरिक पर्यटकको बढ्दो आगमनसँगै म्याग्दी र मुस्ताङका प्रमुख पर्यटकीय क्षेत्र यतिबेला पर्यटकले भरिभराउ भएका छन्। होटलहरू पूर्ण रूपमा भरिएपछि केही पर्यटकलाई छिमेकी जिल्लाका होटलमा समेत व्यवस्थापन गर्नुपरेको छ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानीलगायत क्षेत्रका होटलहरूमा पाहुनाको उल्लेखनीय चाप देखिएको छ। त्यस्तै मुस्ताङका प्रमुख पर्यटकीय गन्तव्यहरूमा पनि पर्यटकको भीड बढेको छ।
गलेश्वर, भुरुङ्ग–तातोपानी, रुप्से झरना, महभिर झरना र अन्धगल्छी क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिएको छ। होटल व्यवसायीहरूका अनुसार भारतबाट गर्मी छल्न आएका पर्यटक तथा देशका विभिन्न भागबाट बिदा मनाउन आएका आन्तरिक पर्यटकका कारण अधिकांश होटलको क्षमता भरिएको छ।
मुस्ताङमा रहेका होटलहरूले सबै पाहुनालाई समेट्न नसकेपछि केही पर्यटकलाई म्याग्दी, बागलुङ, कुश्मा र पोखराका होटलहरूमा बसोबासको व्यवस्था गरिएको व्यवसायीहरूले बताएका छन्।
भुरुङ्ग–तातोपानी कुण्डका सञ्चालकहरूका अनुसार मुस्ताङ जाने–आउने पर्यटकको चापले सेवा व्यवस्थापनमा निकै व्यस्तता बढाएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकअनुसार पछिल्ला चार दिनमा बेनी–जोमसोम सडकमार्ग हुँदै ३० हजारभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरेका छन्।
घाँसा प्रहरी चौकीको अभिलेखअनुसार बुधबार ५,५८६, बिहीबार ७,८२७ र शुक्रबार ९,०८६ पर्यटक मुस्ताङ पुगेका थिए। शनिबार पनि लगभग सोही संख्यामा पर्यटक भित्रिएको अनुमान गरिएको छ।
हाल मुस्ताङका होटलहरूमा दैनिक करिब १० हजार पर्यटकलाई आवास दिन सकिने क्षमता रहेको छ भने म्याग्दीका होटलहरूमा दैनिक करिब २ हजार जनासम्म बस्न सक्ने व्यवस्था छ।
मुस्ताङ पुग्ने अधिकांश आन्तरिक पर्यटक घाँसादेखि चीन सीमावर्ती कोरला क्षेत्रसम्म भ्रमण गर्ने गरेका छन्। उच्च हिमाली क्षेत्रमा लेक लाग्ने सम्भावना रहने भएकाले सम्बन्धित निकायहरूले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिरहेका छन्।
पर्यटकहरू सामान्यतया दुईदेखि चार दिनसम्म बस्ने गरेका छन्। भारतको बिहारबाट आएका पर्यटकहरूले गर्मीबाट बच्न र धार्मिक यात्राका लागि परिवार तथा छिमेकीसँग मिलेर मुस्ताङ भ्रमण गरेको बताएका छन्। त्यस्तै काठमाडौंबाट पुगेका आन्तरिक पर्यटकहरूले सार्वजनिक बिदाको अवसर पारेर मुस्ताङ र ढोरपाटन भ्रमण गरेको बताएका छन्।
यद्यपि, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरो र स्तरोन्नति कार्यका कारण केही स्थानमा सवारी आवागमन प्रभावित हुँदा यात्रामा असहजता भएको पर्यटकहरूको गुनासो छ।
मुक्तिनाथ र कागबेनीको धार्मिक महत्व, हिमाली दृश्यावलोकन, ताल–तलैया, स्थानीय संस्कृति तथा सवारीमार्फत सहज रूपमा कोरलासम्म पुग्न सकिने सुविधाका कारण मुस्ताङ पछिल्ला वर्षहरूमा पर्यटकहरूको प्रमुख रोजाइ बन्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्