काठमाण्डौं ।
पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्। दुई देशबीच विकसित राजनीतिक परिस्थिति र क्षेत्रीय शक्ति सन्तुलनका सन्दर्भमा भएको उक्त भेटलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। भेटवार्ता दुवै पक्षका प्रतिनिधिमण्डलको उपस्थितिमा सम्पन्न भएको बताइएको छ।
भेटका क्रममा प्रधानमन्त्री मोदीले भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाललाई महत्वपूर्ण साझेदार राष्ट्रका रूपमा लिइएको उल्लेख गरेका थिए। उनले नेपाल–भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन काठमाडौंको नयाँ राजनीतिक नेतृत्वसँग सहकार्य विस्तार गर्न भारत इच्छुक रहेको धारणा राखेको जनाइएको छ।
दिल्ली भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा० का नेता नितिन नवीन, भारतीय विदेशमन्त्री एस. जयशंकर तथा गृहमन्त्री अमित शाहसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटहरूमा नेपाल–भारत विकास साझेदारी, सीमापार पूर्वाधार तथा कनेक्टिभिटी, आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको बताइएको छ।
भाजपा मुख्यालयमा लामिछाने नेतृत्वको टोलीलाई विशेष स्वागत गरिएको थियो। नेपालमा हालै सम्पन्न निर्वाचन र बदलिएको राजनीतिक समीकरणपछि भारतले नयाँ नेतृत्वसँग उच्चस्तरीय सम्पर्क बढाउने प्रयासस्वरूप भ्रमणको निमन्त्रणा दिएको बताइएको छ। यद्यपि, नेपाल सरकारका प्रवक्ताले लामिछानेको भारत भ्रमणलाई दलगत तथा व्यक्तिगत राजनीतिक भ्रमणका रूपमा व्याख्या गर्दै यसलाई कुनै औपचारिक सरकारी भ्रमणसँग तुलना गर्न नहुने बताएका छन्।
लामिछानेसँग उनकी पत्नी निकिता पौडेल तथा रास्वपाका नेता बिपिन आचार्य र दीपक बोहरा पनि भारत भ्रमणमा सहभागी छन्। टोलीले दिल्लीमा तय गरिएका राजनीतिक भेटघाटहरू सम्पन्न गरिसकेको छ। भ्रमण तालिकाअनुसार लामिछानेले भारतस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ। निर्धारित कार्यतालिका पूरा गरी टोली जेठ २२ गते नेपाल फर्किने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्