Skip to content

पार्टी सदस्यता कम्युनिस्ट संगठन निर्माणको आधारभूत र निर्णायक पक्ष होः उपाध्यक्ष पौडेल

काठमाण्डौं।

नेकपा ( एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यता कम्युनिस्ट पार्टी निर्माणको आधारभूत तथा निर्णायक पक्ष भएको बताएका छन्। पार्टी केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशालामा बोल्दै उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने स्पष्ट पारे।

उपाध्यक्ष पौडेलका अनुसार केवल सदस्यताको संख्यात्मक विस्तारले मात्र सफलता सम्भव हुँदैन, गुणस्तरीय कार्यकर्ता निर्माण नभए अपेक्षित परिणाम हासिल गर्न नसकिने उनले बताए। उनले विचार र विश्लेषणमा स्पष्ट, अनुशासित र सक्रिय कार्यकर्ता निर्माण गर्न सके मात्रै पार्टीले प्रभावकारी ढंगले लक्ष्य प्राप्त गर्न सक्ने उल्लेख गरे।

सम्बोधनका क्रममा उनले कम्युनिस्ट आन्दोलनमा पार्टी सदस्यतालाई सधैं गम्भीर र ऐतिहासिक महत्व दिइएको उल्लेख गर्दै विभिन्न अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा समेत सदस्यता सहज रूपमा नदिइएको उदाहरणहरू रहेको बताए।

पौडेलले पार्टी सदस्यता केवल प्राविधिक प्रक्रिया नभई राजनीतिक, वैचारिक र सैद्धान्तिक विषय भएको स्पष्ट पार्दै यसलाई विचारसँग जोडेर हेर्नुपर्नेमा जोड दिए। उनका अनुसार आगामी दिनमा सदस्यता विस्तार तथा नवीकरण प्रक्रियामा वैचारिक पक्षलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया दिनुहोस्