काठमाण्डौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै खनालले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई गम्भीर, दुःखद र राष्ट्रहितविपरीत भएको बताएका छन्।
उनले नेपाली जनता विगतदेखि नै राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको पक्षमा संघर्षरत रहेको उल्लेख गर्दै देशमाथिको अतिक्रमणलाई सामान्यीकरण गर्ने खालका अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्ने धारणा व्यक्त गरेका छन्।
खनालले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति कुन तथ्य, प्रमाण र आधारमा दिएका हुन् भन्ने प्रश्नसमेत उठाएका छन्। साथै उनले यस्तो भनाइले स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकको देशभक्तिपूर्ण भावनामाथि असर पारेको दाबी गरेका छन्।
पूर्वप्रधानमन्त्री खनालले प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो भनाइबारे स्पष्ट पार्दै माफी माग्नुपर्ने माग गरेका छन्। उनले उक्त अभिव्यक्तिलाई संसद्को अभिलेखबाट हटाउन सभामुखको ध्यानाकर्षणसमेत गराएका छन्।
साथै, प्रधानमन्त्रीको भनाइप्रति असहमति जनाउँदै खनालले देशभक्त नागरिक तथा राजनीतिक दलहरूलाई त्यसको विरोध गर्न आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस्