काठमाण्डौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछाने आज ( सोमबार) पाँचदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। भारतीय जनता पार्टी ९भाजपा० का नेता नितिन नबिनको निमन्त्रणामा हुने भ्रमण जेठ १८ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।
रास्वपाका अनुसार भ्रमणको उद्देश्य नेपाल र भारतका दुई राजनीतिक दलबीच आपसी सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउनु रहेको छ। भारतीय जनता पार्टीको वैदेशिक मामिला विभागले समेत भ्रमणको पुष्टि गर्दै दुवै दलबीच ‘पार्टी(टु(पार्टी’ सहकार्यको नयाँ अध्याय सुरु हुने जनाएको छ।
भ्रमणका क्रममा दुवै दलका नेताबीच संगठन निर्माण, लोकतान्त्रिक अभ्यास, सुशासन तथा जनतासँगको राजनीतिक पहुँचका विषयमा अनुभव आदानप्रदान हुने कार्यक्रम रहेको बताइएको छ। रास्वपा प्रतिनिधिमण्डलले भाजपा अध्यक्षसहित अन्य वरिष्ठ नेताहरूसँग पनि भेटवार्ता गर्नेछ।
यद्यपि दुवै दलका औपचारिक विज्ञप्तिमा उल्लेख नगरिए पनि भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस। जयशंकरसँग भेटघाट हुन सक्ने चर्चा राजनीतिक वृत्तमा छ। यस्ता सम्भावित भेटवार्ताको समय भने अझै सार्वजनिक गरिएको छैन।
भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धको वर्तमान सन्दर्भमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ। विशेषगरी पछिल्लो समय उच्चस्तरीय कूटनीतिक भ्रमण र द्विपक्षीय संवादका विषयमा विभिन्न चर्चा भइरहेका बेला सत्तारूढ दलका शीर्ष नेताको भारत भ्रमणलाई महत्त्वपूर्ण मानिएको छ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, सह(महामन्त्री तथा प्रतिनिधि सभा सदस्य बिपिन आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा र प्रदीप आचार्य सहभागी रहनेछन्।
भारत बसाइका क्रममा राजनीतिक तथा कूटनीतिक भेटघाटका अतिरिक्त लामिछानेले त्यहाँ रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ। साथै उनले उत्तर प्रदेशस्थित अयोध्याको व्यक्तिगत भ्रमणसमेत गर्ने तालिका तय भएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्