काठमाण्डौं ।
अमेरिकाबाट नेपाल फर्कने क्रममा टर्किस एयरलाइन्सको उडानमा यात्रा गरिरहेका एक नेपाली वृद्धको विमानमै निधन भएको छ। निधन हुनेमा गोरखा घर भएका ७३ वर्षीय श्याम मरहट्टा रहेका छन्। अमेरिका भ्रमण सकेर इस्तानबुल हुँदै काठमाडौं आउँदै गरेका मरहट्टा टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२६ मा यात्रा गरिरहेका बेला अचानक बेहोस भएका थिए।
विमानभित्रै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि प्राथमिक उपचारको प्रयास गरिएको थियो। तर, उनको ज्यान जोगाउन नसकिएको विमानस्थल स्रोतले जनाएको छ।
विमान काठमाडौं अवतरण गरेपछि चिकित्सकीय परीक्षण गर्दा उनलाई मृत घोषणा गरिएको थियो। घटनापछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्न र मृत्युको कारण पत्ता लगाउन उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।
प्रारम्भिक जानकारीअनुसार मरहट्टा लामो समयपछि नेपाल फर्किरहेका थिए। उनी आफ्ना आफन्तजनलाई भेट्न स्वदेश आउँदै गरेका बेला बाटोमै निधन भएपछि परिवार र आफन्त शोकमा डुबेका छन्।
प्रहरी तथा सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेका छन् भने पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्