Skip to content

धरानको मेयरमा पूर्वएमाले नेता धनबहादुर राईलाई अघि सार्दै हर्क साम्पाङ

काठमाण्डौं ।

हर्क साम्पाङ ले धरान उपमहानगरपालिकाको आगामी उपनिर्वाचनका लागि पूर्वएमाले नेता धनबहादुर राई लाई मेयरको उम्मेदवार बनाउने घोषणा गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले निर्वाचन आउन करिब एक वर्ष बाँकी रहँदै आफ्नो पार्टीको तर्फबाट राईलाई उम्मेदवार घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमार्फत साम्पाङले आफ्नो राजनीतिक अभियान र ‘लिगेसी’ लाई निरन्तरता दिन सक्ने उपयुक्त पात्र धनबहादुर राई नै भएको बताएका छन्। उनले लेखेका छन्, “मैले धेरै सोचेँ, जनमत बुझेँ अनि मेरो पदचापलाई पछ्याउने धन बहादुर राई नै देखेँ । आजदेखि मेयरको उम्मेदवार विषय टुंगियो।”

राई यसअघि नेकपा एमाले बाट धरान–४ का वडाध्यक्ष निर्वाचित भएका थिए। पछि एमाले परित्याग गर्दै उनी श्रम संस्कृति पार्टीमा आबद्ध भएका हुन्। पछिल्लो समय उनी साम्पाङको श्रमदान अभियानमा सक्रिय रूपमा सहभागी हुँदै आएका थिए।

साम्पाङको अभियानलाई समर्थन गरेकै कारण एमाले धरान नगर कमिटीले उनलाई वडाध्यक्ष पदबाट हटाउन सिफारिससमेत गरेको थियो। त्यसपछि एमालेसँग दूरी बढाउँदै उनी साम्पाङको नजिक पुगेका थिए।

यता, पार्टीभित्र अन्य आकांक्षीहरू पनि सक्रिय रहेका बेला साम्पाङले सम्भावित आन्तरिक विवादलाई समयमै व्यवस्थापन गर्ने प्रयास गरेका छन्। मेयर पदका बलिया दाबेदार मानिएका निना चन्द्रलाई आगामी प्रदेशसभा निर्वाचनपछि ‘प्रदेशको मन्त्री’ बनाइदिने आश्वासनसमेत दिएको चर्चा छ।

निर्वाचनभन्दा धेरै अगाडि नै उम्मेदवार घोषणा गरेर साम्पाङले धरानमा आफ्नो राजनीतिक प्रभाव कायम राख्ने र चुनावी तयारीलाई तीव्र बनाउने रणनीति अपनाएको विश्लेषण गरिएको छ। यस घोषणासँगै धरानको स्थानीय राजनीतिमा चुनावी माहोल पनि तातेको छ।

प्रतिक्रिया दिनुहोस्