काठमाण्डौं ।
विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार देखिएको सरकारले जनाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२८३ को आर्थिक सर्वेक्षणअनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ।
विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने आकलनबीच नेपालको अर्थतन्त्र भने सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरिएको छ। यस अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन ( जीडीपी ) ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति राष्ट्रिय आय करिब १,५३५ अमेरिकी डलर हुने प्रक्षेपण गरिएको छ।
प्रदेशगत उत्पादनतर्फ बागमती र गण्डकी प्रदेशको वृद्धि दर राष्ट्रिय औसतभन्दा उच्च रहने देखिएको छ भने अन्य प्रदेशहरू तुलनात्मक रूपमा कम वृद्धिमा सीमित हुने अनुमान छ। कुल जीडीपीमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने उल्लेख छ।
बागमती प्रदेशको हिस्सा सबैभन्दा ठूलो रहँदै कुल उत्पादनमा ३६.७ प्रतिशत योगदान रहने अनुमान गरिएको छ। तर कृषि क्षेत्रमा धान उत्पादन ४.२ प्रतिशतले घट्दै ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित हुने प्रक्षेपणले उत्पादनमा चुनौती कायमै रहेको देखाएको छ।
राजस्व र खर्चतर्फ फागुनसम्म संघीय राजस्व ३.२ प्रतिशतले मात्र बढेको छ भने सरकारी खर्च १०.४ प्रतिशतले बढेको छ। विकास निर्माणसँग सम्बन्धित पूँजीगत खर्च अझै कमजोर रहेको औंल्याइएको छ। सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल जीडीपीको ४३.६ प्रतिशत बराबर हो। चालू वर्षमा मात्र सरकारले करिब ३ खर्ब रुपैयाँ ऋण परिचालन गरेको छ।
बाह्य क्षेत्रका सूचक भने बलियो देखिएका छन्। विप्रेषण आप्रवाह ३७।७ प्रतिशतले वृद्धि भई १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ। विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, जसले १८.५ महिनासम्म आयात धान्न सक्ने क्षमता देखाएको छ। तर व्यापार घाटा ११.२ प्रतिशतले बढ्दै १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ।
यसैबीच, डिजिटल भुक्तानी प्रणाली विस्तारसँगै क्यूआर कोडमार्फत कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ। समग्रमा, आर्थिक सूचकहरूमा सुधार देखिए पनि आन्तरिक उत्पादन, पूँजीगत खर्च र व्यापार सन्तुलनमा सुधार गर्नु प्रमुख चुनौतीका रूपमा देखिएको सर्वेक्षणले औंल्याएको छ।
प्रतिक्रिया दिनुहोस्