काठमाण्डौं ।
प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। विभिन्न राजनीतिक दलका सांसदहरूले प्रस्तावित नियमावलीमा संशोधन राखेका हुन्।
गत जेठ ४ गते प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेपछि सभामुखले सांसदहरूलाई संशोधनका लागि समय खुला गरेका थिए। त्यसपछि संशोधन प्रस्तावहरू दर्ता भएका हुन्।
यसैबीच विपक्षी दलहरूले मस्यौदाका तीन मुख्य प्रावधानमा आपत्ति जनाएका छन्। संसदीय समितिको बैठक मन्त्रीको अनुपस्थितिमा पनि बस्न सक्ने व्यवस्था, सांसदहरूको विशेषाधिकारसम्बन्धी नयाँ प्रावधान, र संविधान संशोधन प्रक्रियासम्बन्धी व्यवस्था उनीहरूको विरोधका मुख्य विषय बनेका छन्।
मस्यौदामा संसदीय समितिको छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य नहुने व्यवस्था प्रस्ताव गरिएको छ, जसलाई विपक्षीले आपत्तिजनक भनेका छन्। साथै, नियमावलीलाई संघीय कानुनसरह विशेष कानुनको रूपमा मानिने र सांसदहरूको विशेषाधिकार रहने व्यवस्था पनि विवादित बनेको छ।
यस्तै, राष्ट्रिय सभाले अस्वीकृत गरे पनि संविधान संशोधन विधेयक अगाडि बढ्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ, जसलाई विपक्षी दलहरूले संविधानको मर्मविपरीत भन्दै विरोध जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्