काठमाण्डौँ ।
मितेरी सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ठगी प्रकरणमा मुख्य अभियुक्त आरोपित ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र उपस्थित हुन सार्वजनिक म्याद जारी गरेको छ।
अदालतले सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र आफैँ वा कानुनी प्रतिनिधिमार्फत आवश्यक कागजातसहित अदालतमा उपस्थित हुन निर्देशन दिएको छ। म्यादभित्र उपस्थित नभए कानुनअनुसार मुद्दाको प्रक्रिया अगाडि बढ्ने र पछि दाबीरउजुरी मान्य नहुने चेतावनीसमेत दिइएको छ।
यो प्रकरणमा महालक्ष्मीस्थानस्थित मितेरी सहकारीबाट करिब १४ करोड ८१ लाख रुपैयाँ अपचलन भएको आरोप छ। अनुसन्धानअनुसार ज्योती गुरुङ सहकारीको प्रबन्ध निर्देशक रहँदा रकम अनियमित रूपमा परिचालन गरिएको दाबी गरिएको छ।
प्रहरीका अनुसार उनी हाल विदेशमा रहेको आशंका छ र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोलमार्फत रेड कर्नर नोटिस समेत जारी गरिएको छ।
यसै प्रकरणसँग जोडिएर पूर्वउपसभापति तथा पूर्वमन्त्री धनबहादुर गुरुङको नाम पनि चर्चामा छ। सम्बन्धविच्छेदपछि पनि ऋण किस्ता तिरेको तथ्य सार्वजनिक भएपछि सम्बन्धलाई लिएर प्रश्न उठ्दै आएको छ भने उनीले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।
अदालतको यो कदमसँगै सहकारी ठगी प्रकरण अब थप औपचारिक कानुनी प्रक्रियामा प्रवेश गरेको छ।
प्रतिक्रिया दिनुहोस्