काठमाण्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने निकट भविष्यमै भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। पार्टी स्रोतका अनुसार भारत सरकारको औपचारिक निमन्त्रणामा उनको दुई दिने भ्रमणको प्रारम्भिक कार्यतालिका तय गरिएको हो।
स्रोतले दिएको जानकारीअनुसार लामिछाने जेठ १८ गते आसपासमा नयाँ दिल्ली जाने सम्भावना रहेको छ। भ्रमणका क्रममा उनले नरेन्द्र मोदी तथा एस। जयशंकर सँग उच्चस्तरीय भेटवार्ता गर्ने तयारी भइरहेको बताइएको छ।
नेपालमा नयाँ राजनीतिक समीकरण बनेपछि दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमणहरू कम भएको अवस्थामा सत्ता साझेदार दलका प्रमुखको सम्भावित भारत भ्रमणलाई कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल भारतमा आयोजना हुने ‘बिग क्याट अलाइन्स’ सम्मेलनमा सहभागी हुन दिल्ली जाने तयारीमा रहेका थिए। तर सम्मेलन अन्तिम समयमा स्थगित भएपछि उनको भ्रमण रोकिएको थियो। त्यस्तै भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण पनि स्थगित भएको बताइएको छ।
यता बालेन्द्र शाह को सम्भावित भारत भ्रमणबारे पनि कूटनीतिक वृत्तमा चर्चा जारी छ। भारतले औपचारिक निमन्त्रणा पठाइसकेको भए पनि प्रधानमन्त्री शाहले राष्ट्रिय आवश्यकता र हितका आधारमा मात्रै विदेश भ्रमण तय गर्ने धारणा राखेका कारण भ्रमण मिति निश्चित हुन सकेको छैन।
राजनीतिक विश्लेषकहरूले लामिछानेको प्रस्तावित दिल्ली भ्रमणलाई नेपाल–भारत सम्बन्धमा संवादको नयाँ प्रयासका रूपमा व्याख्या गरेका छन्। दुई देशबीच पछिल्लो समय देखिएको संवादहीनता र कूटनीतिक असहजता कम गर्न यस भ्रमणले भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्