Skip to content

पश्चिम तराईमा गर्मीको जोखिम बढ्यो, सतर्क रहन प्राधिकरणको आग्रह

काठमाण्डौँ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर अझै केही दिन कायम रहने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा सूचीबद्ध गरेको छ।

त्यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा तथा सुर्खेतलगायत जिल्लालाई पनि मौसमको अवस्थाबारे निरन्तर अद्यावधिक रहन सुझाव दिइएको छ। उल्लेखित अधिकांश जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको जनाइएको छ। अत्यधिक गर्मीका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।

तातो हावाको असरबाट जोगिन प्राधिकरणले चर्को घाम लागेको समयमा सकेसम्म घरभित्र बस्न, बाहिर निस्कनै परे टाउको छोप्ने गरी हल्का कपडा लगाउन तथा प्रशस्त पानी पिउन आग्रह गरेको छ। साथै कागती पानी, झोलिलो खानेकुरा र फलफूल बढी सेवन गर्न सुझाव दिइएको छ।

बालबालिकालाई दिउँसोको समयमा घाममा खेल्न नपठाउन तथा खेतबारीको काम बिहान वा साँझपख मात्रै गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्