Skip to content

बंगलादेशमा दादुरा संकट गहिरिँदै, मृत्यु हुने बालबालिकाको संख्या ५१२ पुग्यो

काठमाण्डौँ ।

बंगलादेश मा फैलिएको दादुरा महामारीले भयावह रूप लिएको छ। स्वास्थ्य विभागका अनुसार हालसम्म ५१२ बालबालिकाको मृत्यु भइसकेको छ, जसलाई पछिल्ला दशककै सबैभन्दा गम्भीर दादुरा प्रकोपका रूपमा हेरिएको छ।

पछिल्लो २४ घण्टामा मात्रै थप १३ बालबालिकाको ज्यान गएको जनाइएको छ। मार्च १५ देखि संकलन गरिएको तथ्यांकअनुसार मृतक संख्या निरन्तर बढिरहेको छ।

राजधानी ढाका का अस्पतालहरू अहिले बिरामीले भरिभराउ भएका छन्। संक्रमित बालबालिकाको चाप बढेपछि विशेष वार्ड स्थापना गरिएको भए पनि सघन उपचार कक्ष ९आईसीयू० मा पर्याप्त शय्या अभाव देखिएको अधिकारीहरूले बताएका छन्।

दादुरा अत्यन्त संक्रामक भाइरल रोग हो, जुन खोकी र हाछ्युँमार्फत छिटो फैलिने गर्छ। यो रोग विशेषगरी कुपोषित तथा खोप नलगाइएका बालबालिकामा बढी जोखिमपूर्ण मानिन्छ। संक्रमणले निमोनिया, मस्तिष्क सुन्निने जस्ता जटिल समस्या निम्त्याउन सक्ने र मृत्युको कारण बन्न सक्ने चिकित्सकहरूले बताएका छन्।

करिब १७ करोड ५० लाख जनसंख्या रहेको बंगलादेशले महामारी नियन्त्रणका लागि देशव्यापी खोप अभियान सञ्चालन गरिरहेको छ। युनिसेफ की बंगलादेश प्रमुख राना फ्लावर्स ले हालसम्म १ करोड ८० लाख बालबालिकासम्म खोप अभियान पुगेको जानकारी दिएकी छन्।

यद्यपि स्वास्थ्य विभागले खोप अभियानको पूर्ण प्रभाव देखिन अझै केही महिना लाग्न सक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्