काठमाण्डौँ ।
नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुरबहादुर चन्द माथि आर्थिक अनियमितता, सवारी साधन दुरुपयोग तथा संस्थागत स्रोतको अपारदर्शी प्रयोग गरेको आरोप लागेको छ। आरोपसम्बन्धी विषयमा स्पष्ट पार्न राष्ट्रिय खेलकुद परिषद् ( राखेप ) ले पाँच दिनभित्र प्रमाणसहितको विवरण पेश गर्न निर्देशन दिएको छ।
यसअघि चन्दविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा उजुरी परेको थियो। त्यसपछि आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार गरेको थियो। मन्त्रालयले थप छानबिनका लागि राखेपलाई आवश्यक कागजातसहित प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको थियो।
त्यसको आधारमा राखेप सदस्यसचिव रामचरित्र मेहता ले जेठ ७ गते क्यान अध्यक्षसँग प्रमाणित विवरण माग गर्ने निर्णय गरेका हुन्।
राखेपको पत्रअनुसार चन्दमाथि विभिन्न व्यक्तिबाट रकम संकलन गरी निजी गाडी खरिद गरेको र त्यही गाडी क्यानलाई भाडामा दिएर इन्धन, चालक तथा मर्मत खर्च संस्थाबाट व्यहोर्न लगाएको आरोप छ। साथै गाडी उपलब्ध हुँदाहुँदै हवाई यात्रा गरी दैनिक भत्ता लिएको दाबी पनि गरिएको छ।
त्यस्तै, व्यक्तिगत भोजभतेर र मदिरा सेवनको बिल क्यानमार्फत भुक्तानी गराएको, विभिन्न आपूर्तिकर्तासँग आर्थिक लेनदेनमा अपारदर्शिता अपनाएको तथा फ्लेक्स सामग्रीको बिल महँगो बनाएर अतिरिक्त रकम लिएको आरोपसमेत उल्लेख गरिएको छ।
विदेश भ्रमण र विश्वकपसँग सम्बन्धित खर्चबारे पनि प्रश्न उठाइएको छ। विश्वकपका क्रममा आफ्नी श्रीमती तथा कोषाध्यक्षकी श्रीमतीलाई क्यानको खर्चमा विदेश लगिएको, असम्बन्धित व्यक्तिहरूलाई भिसा दिलाएर आर्थिक लाभ लिएको तथा संस्थाको रकमबाट अत्यधिक विदेश भ्रमण गरेको आरोप लगाइएको छ।
यसबाहेक विश्वकप टिकट तथा जर्सी बिक्रीबाट संकलित रकमको अभिलेख पारदर्शी नभएको, खेलाडीलाई वितरण गर्नुपर्ने रकम नदिइएको तथा आम्दानी लुकाइएको दाबी पनि पत्रमा समावेश छ।
कर्मचारी नियुक्तिमा नातावाद गरेको, बोर्डको स्वीकृतिविना टोली व्यवस्थापक र अन्य पदाधिकारी नियुक्त गरेको तथा राजनीतिक गतिविधिमा संस्थाका स्रोत प्रयोग गरिएको विषयमा पनि अनुसन्धान हुने भएको छ।
राखेपले उठाइएका सबै आरोपबारे सत्यतथ्य विवरण, प्रतिक्रिया तथा सम्बन्धित प्रमाणित कागजात पाँच दिनभित्र पेश गर्न क्यानलाई निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्