काठमाण्डौँ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तस्थित क्वेटामा रेलवे ट्र्याकमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्। घटना आइतबार चमन गेट नजिकै भएको हो।
विस्फोटका कारण गुडिरहेको रेलका तीन वटा डिब्बा पटरीबाट खसेका थिए भने दुई वटा डिब्बा पल्टिएको जनाइएको छ। घटनापछि क्षेत्रमा ठूलो त्रास फैलिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोट अत्यन्त शक्तिशाली भएकाले नजिकै पार्क गरिएका सवारी साधनमा क्षति पुगेको छ भने आसपासका केही घरमा समेत असर परेको छ।
घटनालगत्तै सुरक्षा निकायका टोली घटनास्थलमा परिचालित भएका छन्। सेना र प्रहरीले उद्धार तथा अनुसन्धान कार्य अघि बढाएका छन्। यद्यपि, विस्फोटको कारणबारे आधिकारिक पुष्टि भइसकेको छैन।
पाकिस्तानका रेलमन्त्री मुहम्मद हनिफ अब्बासी ले घटनाको कडा शब्दमा निन्दा गरेका छन्। रेलवे विभागद्वारा जारी विज्ञप्तिअनुसार क्वेटा क्यान्टबाट आउँदै गरेको शटल ट्रेन विस्फोटमा परेको थियो। मन्त्री अब्बासीका अनुसार इन्जिनसहित तीन वटा कोच पटरीबाट बाहिरिएका थिए भने दुई वटा कोच पल्टिएका थिए।
प्रतिक्रिया दिनुहोस्