काठमाण्डौँ ।
नेपालबाट छोरा भेट्न अस्ट्रेलिया पुगेकी एक नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। ५५ वर्षीया ठूली कान्छी तामाङ शुक्रबार बिहान सिड्नी आइपुगेपछि अचानक बेहोस भएकी थिइन्।
काठमाडौंको सुकेधारा निवासी तामाङ आफ्ना श्रीमान्सहित अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित वागा वागामा बस्दै आएका छोरा राजु तामाङलाई भेट्न पुगेकी थिइन्। विमान अवतरण भएलगत्तै विमानस्थलमा उनी अचेत भएर ढलेको बताइएको छ।
घटनापछि विमानस्थलमा रहेको मेडिकल टोलीले तत्काल सीपीआरसहित प्राथमिक उपचार गरेको थियो। उपचारका प्रयास भए पनि उनको ज्यान जोगाउन नसकिएको जनाइएको छ। घटनाबारे स्थानीय प्रहरीले उनका छोरा राजु तामाङलाई जानकारी गराएको थियो।
शव नेपाल पठाउन गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलियाको समन्वयमा ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग संकलन गरिएको छ। सुरुमा १५ हजार अस्ट्रेलियन डलर सहयोगको अपिल गरिएकामा सयौं सहयोगदाताबाट आवश्यकभन्दा बढी रकम संकलन भएको बताइएको छ।
हाल आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव नेपाल पठाउने तयारी भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्