Skip to content

पोखरा बसपार्क क्षेत्र खाली गर्न १५ दिने अन्तिम चेतावनी, जग्गा धनीलाई ७ दिनभित्र प्रमाण पेश गर्न निर्देशन

पोखरा ।

पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको पोखरा बसपार्क निर्माण प्रक्रिया अघि बढाउन पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्र खाली गराउन १५ दिने अन्तिम अल्टिमेटम जारी गरेको छ। समितिले २०८३ जेठ ९ गते सार्वजनिक सूचना प्रकाशित गर्दै बसपार्क क्षेत्रभित्र निर्माण गरिएका अनधिकृत सटर, पसल तथा अन्य संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।

यसअघि जारी गरिएको ३५ दिने सूचनाको अवधि जेठ ८ गते सकिएको थियो। त्यसअघि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले बसपार्क क्षेत्रमा बसोबास तथा व्यवसाय गर्दै आएका व्यक्तिहरूलाई आवश्यक कागजातसहित विवरण पेश गर्न आग्रह गरेका थिए।

शनिबार विभिन्न समूह र व्यवसायीसँग छलफलपछि नगर विकास समितिले पुनः १५ दिनको समयसीमा निर्धारण गर्दै तोकिएको अवधिभित्र स्वयं संरचना हटाउन आग्रह गरेको हो। समितिले तोकिएको समयभित्र अटेर गरे कानुनी प्रक्रियामार्फत डोजर प्रयोग गरी संरचना हटाइने तथा त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।

पोखरा घरदेखि सेतीपुलसम्म फैलिएको बसपार्क क्षेत्र, पृथ्वी राजमार्गको दक्षिण, विमानस्थलको उत्तर तथा पूर्वतर्फ सेती नदी क्षेत्रभित्र बनेका संरचनाहरू हटाएर बसपार्क निर्माण प्रक्रिया अघि बढाउने महानगरको तयारी छ।

यसैबीच, बसपार्क क्षेत्रभित्र आफ्नो स्वामित्वको जग्गा रहेको दाबी गर्ने व्यक्तिहरूलाई पनि समितिले ७ दिनभित्र प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको छ। जग्गाधनीहरूले नागरिकताको प्रतिलिपि, लालपुर्जा, चालु आर्थिक वर्षको कर तिरेको रसिद तथा स्वामित्व पुष्टि हुने अन्य कागजात पेश गर्नुपर्ने बताइएको छ।

नगर विकास समितिका अनुसार यो प्रक्रियाबाट वास्तविक जग्गाधनी र अनधिकृत कब्जाधारीको पहिचान गरी दीर्घकालीन रूपमा जग्गा विवाद समाधान गर्ने उद्देश्य राखिएको छ।

२०३१ सालमा आधुनिक बसपार्क निर्माणका लागि पृथ्वीचोक क्षेत्रमा करिब २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। तर, लामो समयसम्म योजना कार्यान्वयन हुन नसक्दा तीव्र अतिक्रमणका कारण अहिले उक्त क्षेत्र खुम्चिँदै करिब २६ रोपनीमा सीमित भएको महानगरपालिकाको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्