काठमाण्डौँ ।
अन्तर्राष्ट्रिय उडानका क्रममा क्याबिन क्रूको लापरवाहीका कारण तातो कफी पोखिएर घाइते भएकी नेपाली यात्रुलाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। काठमाडौँस्थित उपभोक्ता अदालतले बिहीबार (जेठ ७ गते) सुनाएको फैसलामा कतार एयरवेजलाई उपचार खर्च, आम्दानीको क्षति र मानसिक आघातबापत उक्त रकम भराउन आदेश दिएको हो।
घटना सन् २०२३ जुलाई १० को हो। ललितपुरकी प्रिती थापा कतार एयरवेजको फ्लाइट नम्बर QR 744 मार्फत बोस्टनबाट दोहा हुँदै काठमाडौँ फर्किँदै गर्दा विमानभित्र सर्भ गरिएको अत्यधिक तातो कफी खस्दा गम्भीर रूपमा जलन भएको थियो। उनलाई पेट, तिघ्रा र शरीरका संवेदनशील भागमा दोस्रो तहको जलन भएको चिकित्सकहरूले पुष्टि गरेका थिए।
घाइते भएपछि उनलाई दोहास्थित अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो भने नेपाल फर्किएपछि कीर्तिपुर अस्पतालको जलन वार्डमा लामो समय उपचार गरिएको थियो।
पीडितले प्रारम्भमा करिब २० मिलियन अमेरिकी डलर बराबरको क्षतिपूर्ति दाबी गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी थिइन्। तर अदालतले प्रमाण र दायित्व मूल्याङ्कनका आधारमा कुल २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति निर्धारण गरेको हो।
अदालतले अन्तर्राष्ट्रिय हवाई यातायातसम्बन्धी मोन्ट्रियल महासन्धि, १९९९ तथा नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ का प्रावधानलाई आधार मानेर एयरलाइन्सको लापरवाही ठहर गरेको जनाएको छ।
निर्णयअनुसार, एयरलाइन्सले यात्रु सुरक्षामा आवश्यक सावधानी नअपनाएको र उडानको क्रममा उम्लिरहेको तरल पदार्थ सुरक्षित रूपमा सेवा गर्न नसकेको निष्कर्ष अदालतले निकालेको छ।
कतार एयरवेजले भने प्रारम्भमा आफ्नो गल्ती अस्वीकार गर्दै क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो। कम्पनीलाई उच्च अदालत पाटनमा पुनरावेदन गर्ने कानुनी अवसर भने अझै बाँकी छ।
यो फैसलालाई नेपालको उपभोक्ता अधिकार र हवाई यात्रु सुरक्षासम्बन्धी क्षेत्रमा महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस्