Skip to content

संसद्मा गुञ्जिए जनसरोकारका मुद्दा : सुकुमवासीदेखि पाथीभरा केबुलकारसम्म सरकारसँग जवाफ माग

काठमाडौं आकृति सुनार

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले मुलुकका विभिन्न समसामयिक र जनसरोकारका विषय उठाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले सुकुमवासी समस्या, बढ्दो आत्महत्याका घटना, विकास निर्माण, महँगी, रोजगारी तथा पाथीभरा केबुलकार परियोजनालगायत विषयमा सरकारसँग स्पष्ट धारणा र प्रभावकारी कदमको माग गरेका हुन्।

सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीहरूको अवस्था अत्यन्त कष्टकर बन्दै गएको बताइन्। उनले ती स्थानमा रहेका बालबालिकाको पठनपाठन प्रभावित भएको भन्दै शिक्षा र आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरिन्।

उनले भनिन्, “सरकारको नीति गरिब लखेट्ने होइन, गरिबी हटाउने हुनुपर्छ। सुकुमवासीहरूको समस्या तत्काल सम्बोधन गर्नुपर्छ।”

यस्तै, सांसद शम्भुप्रसाद ढकालले देशभर आत्महत्याका घटना बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले आत्महत्याका लागि दुरुत्साहन गर्ने वा बाध्य पार्ने व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरे।

यसैबीच सांसद क्षितिज थेबेले ताप्लेजुङको पाथीभरा केबुलकार परियोजनाबारे सरकारको स्पष्ट र लिखित धारणा माग गरे। उनले आयोजनालाई लिएर देशभर चासो र विवाद बढिरहेको उल्लेख गर्दै सरकारको आधिकारिक निर्णय सार्वजनिक गर्नुपर्ने बताए।

थेबेले प्रश्न गरे, “सरकारले मौखिक रूपमा काम रोकिएको भनिरहेको छ। तर परियोजना बन्ने हो कि स्थायी रूपमा रोकिने हो, त्यसबारे स्पष्ट जवाफ चाहिन्छ।”

सांसदहरूले उठाएका विषयहरूले संसद्मा अहिले जनजीविका, सामाजिक सुरक्षा र विकाससम्बन्धी मुद्दा प्रमुख रूपमा उठ्न थालेको संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्