Skip to content

आजै प्रधान न्यायाधीशको शपथ गराउने तयारी, सर्वोच्चमा नयाँ नेतृत्व भित्र्याउन सत्ता पक्ष सक्रिय

काठमाडौं आकृति सुनार

प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज शर्मालाई आजै पद तथा गोपनीयताको शपथ गराई सर्वोच्च अदालतमा पदबहाली गराउने तयारी तीव्र पारिएको छ।

संवैधानिक परिषद्ले गत वैशाख २४ गते डा. शर्मालाई नेपालको ३३ औँ प्रधान न्यायाधीशका रूपमा सिफारिस गरेको थियो। हाल संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि छलफल र सुनुवाइ प्रक्रिया मंगलबार बिहानदेखि सुरु भएको छ।

राजनीतिक वृत्तमा भने सर्वोच्च अदालत र सरकारबीच बढ्दो असमझदारी तथा महत्वपूर्ण मुद्दामा भइरहेको ढिलाइलाई ध्यानमा राख्दै सत्ता पक्षले द्रुत रूपमा नयाँ नेतृत्व ल्याउन खोजेको चर्चा भइरहेको छ।

सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्रोतका अनुसार आजै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन गराएर राष्ट्रपति कार्यालयमार्फत साँझसम्म शपथ गराउने गरी आवश्यक तयारी अघि बढाइएको छ।

कानुनी व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संसद् सचिवालयले त्यसको जानकारी राष्ट्रपति कार्यालयमा पठाउनेछ। त्यसपछि राष्ट्रपति कार्यालयले शपथ ग्रहणको औपचारिक समय तय गर्नेछ।

स्रोतका अनुसार आज बेलुकी ६ बजेभित्रै शपथ ग्रहण सम्पन्न गराउने गरी आन्तरिक समन्वय भइरहेको छ। शपथलगत्तै डा. शर्माले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्ने तयारी रहेको बताइएको छ।

नयाँ प्रधान न्यायाधीश नियुक्तिसँगै सर्वोच्च अदालतको नेतृत्व, न्याय सम्पादनको गति तथा सरकार–न्यायपालिका सम्बन्धलाई लिएर पनि राजनीतिक र कानुनी वृत्तमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्